
हिमपातपछि कागबेनी-मुक्तिनाथ सवारी सञ्चालनमा रोक
मुस्ताङ- मुस्ताङमा यस यामको पहिलो भारी हिमपात भएको छ। आज बिहानैदेखि उपल्लो मुस्ताङ र मुक्तिनाथ क्षेत्रमा परेको बाक्लो हिउँले जनजीवन प्रभावित बनेको छ भने तीर्थयात्रीहरू बीच बाटोमै रोकिएका छन्।
जिल्ला प्रशासन कार्यालयले कागबेनीदेखि मुक्तिनाथसम्मको सडकमा यात्रा नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।
प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार, उपल्लो मुस्ताङको कोरलानाका, लोमान्थाङदेखि मुक्तिनाथ क्षेत्रसम्मका उच्च लेकहरूमा वर्षासहित हिमपात भइरहेको छ।
मुक्तिनाथ मन्दिर क्षेत्रमा ५ देखि ६ इन्च बाक्लो हिउँ जमेको छ, जसकारण दर्शनका लागि पुगेका तीर्थयात्रीहरूलाई आवतजावत गर्न कठिनाइ भएको छ। मुक्तिनाथ विकास समितिका कर्मचारी रविन सुवेदीका अनुसार, हिमपात जारी रहेकाले हिउँ दुई फिटसम्म जम्न सक्ने अनुमान छ।
हिमपातका कारण सडक चिप्लो र जोखिमपूर्ण बनेपछि प्रशासनले कागबेनी-मुक्तिनाथ सडकखण्डमा सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी छिरिङ किप्पा लामाले कालोभिर, खिङ्गा, झारकोट जस्ता साँघुरा र घुम्ती मोड भएका स्थानमा बाक्लो हिउँ जमेकाले दुर्घटनाको उच्च जोखिम रहेको बताए।



कागजपत्र |
