
सिन्धुलीमा श्रीमतीको ढुंगाप्रहारबाट श्रीमानको मृत्यु
सिन्धुली- सिन्धुलीको कमलामाई नगरपालिका–६ पानीटंकीमा श्रीमतीको ढुंगाप्रहारबाट श्रीमानको मृत्यु भएको छ । घरायसी विवादका कारण कात्तिक १ गते ४८ वर्षीया राधिका वाइबाले आफ्ना श्रीमान् ५५ वर्षका बुद्धसिं वाइबाको टाउकोमा ढुंगाले प्रहार गरेकी थिइन् ।
गम्भीर घाइते भएका बुद्धसिंलाई सिन्धुली अस्पतालमार्फत बाँसबारी न्युरो अस्पताल, काठमाडौं लगिएको थियो । चिकित्सकले थप उपचार सम्भव नभएको भन्दै उनलाई घर फर्काएको प्रहरीले जनाएको छ । घर फर्काएपछि सिराहा कर्जन्हा नगरपालिका–५ ससुरालीमा राखिएका वाइबाको मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले जानकारी दिए ।
घटनापछि आरोपी श्रीमती राधिकालाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको जनाएको छ । प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानले घटनाको कारण दीर्घकालीन पारिवारिक विवाद रहेको देखिएको छ ।



कागजपत्र |
