पाकिस्तान–अफगानिस्तानबीच तत्काल युद्धविरामको सहमति


काठमाडौं-  पाकिस्तान र अफगानिस्तानले कतारको राजधानी दोहामा सम्पन्न शान्ति वार्तामा तत्काल प्रभावले युद्धविराम गर्ने सहमति जनाएका छन्। यो सहमति पाकिस्तानद्वारा अफगान भूमिमा गरिएका हवाई आक्रमणमा १० अफगानी नागरिकको मृत्यु भएपछि आएको हो। सो आक्रमणले यसअघि कायम युद्धविराम भङ्ग गरेको बताइन्छ।

गत सातादेखि दुई देशबीच सीमा क्षेत्रमा तीव्र बनेको झडपमा दर्जनौँ सैनिक र सर्वसाधारणको ज्यान गएको छ। सन् २०२१ मा तालिबान पुनः सत्तामा फर्किएपछि दुवै मुलुकबीचको यो सबैभन्दा भीषण द्वन्द्व मानिएको छ।

कतारको विदेश मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “दुवै पक्षले तत्काल युद्धविराम लागू गर्ने र दीर्घकालीन शान्ति तथा स्थायित्वका लागि आवश्यक संयन्त्रहरू निर्माण गर्ने सहमति गरेका छन्।”

यस सहमति कार्यान्वयनका लागि निकट भविष्यमा थप वार्ता गरिने पनि उल्लेख गरिएको छ। पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले युद्धविरामको पुष्टि गर्दै लेखेका छन्, “अफगान भूमिबाट पाकिस्तानमा गरिने आतङ्कवादी गतिविधि तत्काल रोकिनेछ, र दुवै छिमेकी राष्ट्रले एकअर्काको सार्वभौमिकता तथा अखण्डताको सम्मान गर्नेछन्।”

आसिफले आगामी अक्टोबर २५ मा इस्तानबुलमा पुनः वार्ता हुने जानकारी पनि दिएका छन्। अफगान सरकारका प्रवक्ता जबीउल्लाह मुजाहिदले पनि युद्धविराममा सहमति भएको पुष्टि गर्दै भने, “दुवै देश अब कुनै आक्रामक कदम नचाल्ने र पाकिस्तानमा आक्रमण गर्ने समूहहरूलाई सहयोग नगर्ने प्रतिबद्धता जनाएका छन्।”

दोहामा सम्झौता पश्चात् दुवै मुलुकका रक्षा प्रतिनिधिहरूले हात मिलाएको तस्बिर पनि सार्वजनिक गरिएको छ। तर सीमा क्षेत्रका बासिन्दाहरूमा अझै त्रास फैलिएको छ। पछिल्लो झडपको मूल कारण सुरक्षा चुनौती र आपसी अविश्वास नै रहेको विश्लेषण गरिएको छ।

 

प्रतिक्रिया