कांग्रेस केन्द्रीय समिति बैठक आज पनि 


काठमाडौं – नेताहरू बोल्ने क्रम नसकिएपछि नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्ने भएको छ।

शुक्रवारको बैठकमा एजेण्डामाथि नेताहरूले आफ्नो धारणा राख्ने क्रम नसकिएकाले शनिवार फेरि बस्ने गरी बैठक स्थगित गरिएको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए। उनका अनुसार बैठकमा केन्द्रीय सदस्यहरूले एजेण्डामाथि आफ्नो धारणा राखिरहेका छन्।

उनले शनिवार पनि छलफल सकिने सम्भावना कम रहेकोले छठपछि मात्रै निष्कर्षमा पुगिने बताए। बैठकमा केहीले विशेष महाधिवेशन गर्नुपर्ने तथा केहीले नियमित महाधिवेशन गर्नुपर्ने धारणा राखेका छन्।

प्रवक्ता महतले भने, ‘हाम्रो अस्ति जस्तै बैठक जारी छ। प्रस्तुत १० वटा विषयमा साथीहरूले कुरा राखिरहनुभएको छ। भोलि पनि बैठक बस्छौं। छठ पर्वपछि बाँकी बैठकहरूलाई निरन्तरता दिन्छौं। त्यसपछि मात्रै हामी छलफल भइरहेका विषयको निष्कर्षमा पुग्छौं।’

प्रवक्ता महतले निर्वाचन गराउने सवालमा सरकार गम्भीर नरहेको बताए। उनले सरकारको ध्यान निर्वाचन गराउनुमा केन्द्रित हुनुपर्नेमा राजदूत फिर्ता बोलाएर अन्ताराष्ट्रिय कूटनीतिमा प्रश्न उठ्ने खालको गतिविधि गरिरहेको आरोप लगाए।

 

प्रतिक्रिया