
जेनजी आन्दोलनमा २२ प्रदर्शनकारीको मृत्यु, ६१ भीआईपीको हवाई उद्धार : नेपाली सेना
काठमाडौं- नेपाली सेनाले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा मृत्यु भएकामध्ये २२ जना मात्रै प्रदर्शनकारी भएको तथ्य सार्वजनिक गरेको छ। सेनाका अनुसार आन्दोलन र त्यसपछिका घटनासहित देशभर जम्मा ७६ जनाको मृत्यु भएको हो।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सेनाको युद्ध कार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाले सो तथ्यांक प्रस्तुत गरेका हुन्। उनका अनुसार मृत्यु हुनेमध्ये २२ जना प्रदर्शनकारी, ३ जना प्रहरी, १० जना कैदी र बाँकी ४१ जना अन्य व्यक्तिहरू रहेका छन्।
सेनाले आन्दोलनका क्रममा ६१ जना भीआईपीको हवाई उद्धार गरिएको जानकारी दिएको छ। साथै, नेपाल प्रहरीका २३ जना कर्मचारीको समेत हवाई उद्धार गरिएको र जमिनबाट थप १२९ जनालाई उद्धार गरिएको सेनाले जनाएको छ।
नेपाली सेनाले सार्वजनिक गरेको प्रतिवेदनअनुसार जेनजी आन्दोलनका क्रममा देशभर ६८८ वटा सरकारी कार्यालयमा तोडफोड र आगजनी भएको छ। त्यसबाहेक २५९ निजी घर, १२८ व्यापारिक प्रतिष्ठान, १९८ राजनीतिक दलका पार्टी कार्यालय र ३०७ प्रहरी कार्यालयमा क्षति पुगेको उल्लेख छ।



कागजपत्र |
