
एमाले केन्द्रीय कमिटी बैठक आज समापन हुँदै
काठमाडौं – नेकपा एमालेको जारी १० औँ बैठकको तेस्रो दिन आज बोल्न बाँकी रहेका केन्द्रीय सदस्य र पदाधिकारीहरूले आफ्ना धारणा राखेर आज सकिने भएको छ ।
प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार आजको बैठकमा करिब १५० जना केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राख्ने छन् । आफ्ना धारणा राख्न काँकी करिब ५० जना केन्द्रीय सदस्य छन् ।
आजको बैठकमा पोलिटब्युरो,स्थायी कमिटी र पदाधिकारीहरूले आफ्ना धारणा राख्ने छन् । एमालेमा स्थायी र पदाधिकारी सहित ९९ जना नेताहरू रहेका छन् । ‘बोल्न बाँकी नेताहरूलाई पनि तीन मिनेट कै समय उपलब्ध हुन्छ’ प्रमुख गौतमले भने ‘बैठकको अन्त्यमा अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरूबाट आएका जिज्ञासाको एकमुष्ट जवाफ दिएर बैठक समापन हुन्छ ।’
बैठकमा प्रस्तुत अध्यक्ष ओलीको विशेष प्रस्तावमा केन्द्रीय सदस्यहरूले दिएका सुझाव,वर्तमान राजनीतिक परिस्थिति,घोषित निर्वाचन र पार्टीको आगामी बाटो र पार्टीका नेता कार्यकर्ताहरूको भूमिका आदिका बारेमा विशेष निर्देशन दिने गौतमले जानकारी दिए ।
ललितपुरको भनी मण्डलस्थित रामबाघ महलमा तीन दिन अघि देखि केन्द्रीय कमिटीको बैठक जारी छ । जेन जी आन्दोलनपछि उत्पन्न विषम राजनीतिक परिस्थितिको छलफल गर्नका लागि एमालेले विशेष बैठक बोलाएको हो । बैठकले मंसिर २७ देखि २९ गतेसम्म पोखरामा ११ औँ महाधिवेशन गर्ने निर्णय गर्दैछ ।
आजको बैठकमा उपमहासचिव प्रदीप ज्ञवालीले समसामयिक प्रस्तावहरू पनि प्रस्तुत गर्नेछन् ।



कागजपत्र |
