निर्वाचन हुने अवस्था छैन, सरकार असंवैधानिक र अवैध : ओली


काठमाडौं-  नेकपा एमालेका अध्यक्ष तथा निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अहिले निर्वाचन हुने कुनै पनि अवस्था नरहेको बताएका छन्।

बुधबारबाट सुरु भएको एमाले केन्द्रीय कमिटीको १०औँ बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले निर्वाचन गराउने बाटो नसमातेको दाबी गरे। उनले अहिलेको सरकारलाई “असंवैधानिक र अवैध” भन्दै कडा शब्दमा आलोचना गरे।

‘आजको प्रतिगमनको स्थितिलाई हामीले बुझ्नुपर्छ,’ ओलीले भने, ‘चुनाव हुनेवाला छैन। सरकारले चुनाव गराउने बाटो समातेको छैन। यो असंवैधानिक र अवैध सरकार हो।’

अध्यक्ष ओलीका अनुसार सरकारले तोकिएको म्याण्डेटअनुसार ६ महिनाभित्र निर्वाचन गराउने कुनै तयारी गरेको छैन। उनले निर्वाचन आयोगले घोषणा गरेको फागुन २१ गतेको मिति कागजमै सीमित हुने चेतावनी दिए।

अध्यक्ष ओलीले मुलुकमा हालको राजनीतिक संकटलाई ‘योजनाबद्ध प्रतिगमन’ को उपज बताए। उनका अनुसार जेन–जी आन्दोलनको नाममा संसद् विघटन गरिनु योजनाबद्ध कदम हो, जसको उद्देश्य सत्ता कब्जा गर्नु थियो।

‘पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले असंवैधानिक ढंगले संसद विघटन गर्न नहुने भनी फैसला गर्नुभएको थियो,’ उनले भने, ‘तर अहिले उही पूर्वप्रधानन्यायाधीशले असंवैधानिक ढंगले संसद विघटन गरेर आफैं प्रधानमन्त्री बनेकी छन्। यो प्रतिगमनको चरम उदाहरण हो।’

ओलीले जेन–जी आन्दोलनका मागहरू र संसद् विघटनबीच कुनै सम्बन्ध नरहेको स्पष्ट पारे। ‘जेन–जीले सुशासन, भ्रष्टाचार नियन्त्रण र अभिव्यक्ति स्वतन्त्रता जस्ता वैधानिक माग गरेका थिए,’ उनले भने, ‘प्रधानमन्त्रीको राजीनामा वा संसद् विघटन तिनीहरूको माग कहिल्यै थिएन।’

 

प्रतिक्रिया