कांग्रेस निर्वाचनमा जाने पक्षमा, संसद् पुनर्स्थापना गर्न एमालेको जोड


काठमाडौं-  प्रतिनिधिसभा विघटनको विषयमा नेपाली कांग्रेस र नेकपा (एमाले) बीच फरक धारणा देखिएको छ। सभामुख देवराज घिमिरेले बुधबार सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने छ वटा दलका नेतासँग छलफल गर्दा कांग्रेस र एमालेबीच मतभेद प्रष्ट भएको हो।

विघटित प्रतिनिधिसभाका कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले सर्वोच्च अदालतमा रिट दर्ता भइसकेको जानकारी प्राप्त भएको बताउँदै, अदालतको व्याख्या र आदेशको सम्मान गर्दै सरकारले घोषणा गरेको निर्वाचन तयारी पनि अघि बढाउनुपर्ने धारणा राखे।

‘आठ दलका प्रमुख सचेतकहरूले संसद् विघटन असंवैधानिक भइसकेको बताएका छन्। पार्टीको दसैंअघि बसेको कार्यसम्पादन समिति बैठकले पनि त्यसै निष्कर्षमा पुगेको हो,’ घिमिरेले भने, ‘तर कांग्रेस लोकतान्त्रिक पार्टी हो। त्यसैले निर्वाचनबाट भाग्दैन। सर्वोच्च अदालतको फैसला जसरी आए पनि हामी त्यसको सम्मान गर्छौं।’

उनले सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गर्ने निर्णय गरे पनि त्यसलाई स्वीकार गर्ने स्पष्ट संकेत दिएका थिए।

त्यसैगरी, नेकपा (एमाले) का विघटित प्रतिनिधिसभामा प्रमुख सचेतक महेश बर्तौलाले भने प्रतिनिधिसभा पुनर्स्थापना आवश्यक रहेको धारणा राखे। उनले वर्तमान सुशीला कार्की नेतृत्वको सरकारले निर्वाचन गराउने दिशा लिएको देखिँदैन भन्दै देश संवैधानिक मार्गभन्दा बाहिर गएको टिप्पणी गरे।

‘अहिले देश संवैधानिक बाटोभन्दा बाहिर छ,’ बर्तौलाले भने, ‘अब देशलाई बाटोमा ल्याउने उपाय दुईवटा हुन्। या त निर्वाचन, या त प्रतिनिधिसभा पुनर्स्थापना। तर अहिलेको सरकार निर्वाचन गराउने अवस्थामा छैन। गृह प्रशासनले नै दलका नेतालाई गिज्याउन थालेको छ। राजनीतिक पार्टीहरूलाई जनतामाझ जान नदिई देशमा अस्थिरता बढाइएको छ। त्यसैले प्रतिनिधिसभा पुनर्स्थापना अपरिहार्य छ।’

यता नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डेले भने पार्टीले आगामी निर्वाचनको तयारी थालिसकेको बताए। उनका अनुसार पार्टीले निर्वाचनमा जाने निर्णय आधिकारिक रूपमा गरिसकेको छ।

सभामुख देवराज घिमिरेले संसद् पुनर्स्थापना विषयमा राजनीतिक दलका नेताहरूको राय संकलनका लागि यो बैठक आह्वान गरेका थिए।

प्रतिक्रिया