कपिलवस्तुको जंगलमा भेटियो पुरुषको शव


कपिलवस्तु- कपिलवस्तुको बाणगंगा नगरपालिकास्थित एक सामुदायिक वनमा मंगलबार एक पुरुषको शव फेला परेको छ। अन्दाजी ३५ देखि ४० वर्ष उमेरका देखिने पुरुषको शव पहिचान हुन सकेको छैन।

इलाका प्रहरी कार्यालय पिपराका अनुसार, बाणगंगा नगरपालिका-२ स्थित प्रतिभा सामुदायिक वन र वडा नम्बर-३ को राजापानी सामुदायिक वन क्षेत्रको सिमानामा पर्ने जंगलमा शव भेटिएको हो।

स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। खबर पाउनासाथ प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो।

प्रहरीका अनुसार मृतक अन्दाजी ३५ देखि ४० वर्ष उमेर समूहका देखिन्छन्। उनको शारीरिक बनोट र अनुहारका आधारमा थारु समुदायको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ।

मृतकको दाहिने हातको नाडीमा ‘विजय चौ’ लेखिएको छाप (ट्याटु) रहेको प्रहरीले जनाएको छ।

शवलाई पोष्टमार्टम तथा पहिचानका लागि पिपरास्थित अस्पतालको शवगृहमा राखिएको छ।

 

प्रतिक्रिया