जेनजी आन्दोलनपछि भारतबाहेकका १०४ विदेशी कैदी फरार


काठमाडौं-  जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते देशभरका विभिन्न कारागारमा भएको अशान्तिपछि हालसम्म भारतबाहेकका १०४ जना विदेशी कैदी फरार रहेको पाइएको छ। तीमध्ये सबैभन्दा धेरै चिनियाँ नागरिक रहेका छन्।

कारागार व्यवस्थापन विभागका अनुसार मंगलबारसम्म फरार विदेशी कैदीमध्ये २२ जना चिनियाँ, १५ जना बंगलादेशी र १० जना दक्षिण अफ्रिकी नागरिक रहेका छन्। विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार, यी सबै कैदीहरू नख्खु र जगन्नाथ देवल कारागारबाट फरार भएका हुन्।

विभागका अनुसार, चिनियाँ कैदीहरू मुद्रा अपराध, मानव बेचबिखन, सुन भन्सार चोरी–पैठारी र जबरजस्ती करणीजस्ता गम्भीर अपराधमा संलग्न थिए।

त्यस्तै बंगलादेशी कैदीहरू ठगी, लागुऔषध कारोबार, अपहरण र शरीर बन्धकजस्ता मुद्दामा जेलमा रहेका थिए।
फरारमध्ये धेरैजसो लागुऔषध सम्बन्धी अपराधमा सजाय काटिरहेका कैदी रहेको विभागले जनाएको छ।

गत महिनाको जेनजी आन्दोलनका क्रममा देशभरका थुप्रै कारागारहरूमा तोडफोड र अराजकता फैलिएको थियो। सो क्रममा ४ हजार ६५८ जना नेपाली कैदी पनि फरार भएका थिए, जसको खोजी अझै जारी छ।

प्रतिक्रिया