निर्वाचन अघि कांग्रेसको महाधिवेशन हुनुपर्छ : नेविसंघ


काठमाडौं-  नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आगामी फागुन २१ गतेको निर्वाचन अघि पार्टीको नियमित महाधिवेशन हुनुपर्ने माग गरेको छ। सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेविसंघले चुनावभन्दा अघि महाधिवेशन गरेर पार्टीलाई नयाँ ढंगले अघि बढाउनुपर्ने बताएको हो।

नेविसंघका अध्यक्ष दुजाङ शेर्पा का अनुसार पार्टीभित्रका युवाहरूको भावना बुझ्दै महाधिवेशनमार्फत पार्टीको शुद्धिकरण, भ्रष्टाचार र बेथिति मुक्त गर्ने आवश्यक छ। उनले पार्टीलाई पारदर्शी र सुशासनयुक्त बनाउने उद्देश्यले पार्टीका सबै तहमा रहेका व्यक्तिहरूको सम्पत्तिको अद्यावधिक विवरण प्रत्येक वर्ष सार्वजनिक गर्नुपर्ने नीति अपनाउन सुझाव दिएका छन्।

शेर्पाले जेन–जी आन्दोलनका क्रममा भएको भ्रष्टाचार र बेथितिविरुद्धको आवाजलाई संस्थागत अभियानका रूपमा अघि बढाइने बताएका छन्। उनले आन्दोलनका घटनामा दोषी देखिएमा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री तथा काठमाडौं महानगर प्रमुख बालेन्द्र साह माथि छानबिन गरी कारबाही हुनुपर्ने बताए।

उनले आन्दोलनका क्रममा कांग्रेस सभापति शेरबहादुर देउवा र आरजु राणामाथि सुनियोजित रूपमा आक्रमण भएको भन्दै संलग्नहरूलाई कारबाही गर्न माग गरेका छन्। साथै, नेविसंघले देशको शान्ति, सुरक्षा र स्थायीत्व कायम गर्न जिम्मेवार सुरक्षा संयन्त्रको मनोबल बढाउने काम गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

प्रतिक्रिया