
मुलुकलाई संवैधानिक बाटोमा फर्काउनुको विकल्प छैनः युवाहरू
काठमाडौं — जेन्जी आन्दोलनपछि घोषित निर्वाचनको वातावरण बनाएर मुलुकलाई संवैधानिक बाटोमा फर्काउनुको विकल्प नरहेकाे युवाहरूले जनाएका छन् ।
आन्दोलनपछि गठन भएको अन्तरिम सरकारले यही फागुन २१ गते आम निर्वाचनको घोषणा गरिसकेको छ, सोही परिवेशलाई मध्यनजर गर्दै केही युवाहरुले निर्वाचनको वातावरण बनाउन पनि अपिल गरेका हुन् ।
एक विज्ञप्ति जारी गर्दै १३ युवाहरुले, ‘यो देश तपाईको, मेरो अनि हामी सबैको हो । संविधानको आधारमा चल्नुपर्ने देश विशिष्ट परिस्थितिमा कहिलेकाहीँ लिक बाहिर पनि जान्छ । तर, पुनः संवैधानिक बाटोमा फर्काउनुको विकल्प छैन । देशलाई सहि ट्रयाकमा फर्काउन हाम्रो खबरदारी र सहयोग दुवै रहनेछ,’ भनेका छन् ।
३ बुँदे विज्ञप्तिमा भनिएको छ, ‘२०८२ भाद्र २३ र २४ गतेको घटनाले संसारभरका नेपालीलाई स्तब्ध बनाएको छ । सो घटनाको छानबीनका लागि गठित जाँचबुझ आयोगले घटनाको सत्यतथ्य बाहिर ल्याउनुपर्छ । यसर्थ, समितिलाई स्वतन्त्रपूर्वक काम गर्ने वातावरण बनाइयोस् ।’
आफूहरुले भयरहित वातावरणमा निर्वाचन गर्दै मुलुकलाई संवैधानिक बाटोमा फर्काउन पनि माग गरेको जनाउँदै राजनीतिक दलहरुले पनि आफूलाई निर्वाचनका लागि तयार पारेर निर्वाचनको माहौल बनाउनुपर्ने जगन्नाथ दुलालले जनाएका छन् ।
त्यस्तै विज्ञप्तिमा, ‘लोकतन्त्र र संविधानको रक्षाका लागि पनि तोकिएको मितिमा निर्वाचन हुनु अपरिहार्य छ । तसर्थ सरकारले राजनीतिक दल, जेनजी, नागरिक समाजसँग आवश्यक छलफल गरी निर्वाचनको वातावरण बनाओस् । नागरिक समाज, जेनजी लगायतका सरोकारवालाहरुले निर्वाचनका लागि वातावरण बनाउने काम आजैबाट थाल्नुपर्छ । राजनीतिक दलहरुले पनि आफूलाई निर्वाचनका लागि तयार गरेर निर्वाचनको माहोल बनाउन सक्रियतापूर्वक लाग्नुपर्छ । निर्वाचन नै लोकतान्त्रिक व्यवस्थाको आधार हो तसर्थ देशलाई संवैधानिक लोकतन्त्रको बाटोमा लैजान पनि दलहरु ताजा जनादेशका लागि निर्वाचनमा जानुको विकल्प छैन,’ भनिएको छ ।



कागजपत्र |
