
राजीनामा दिए पनि राजनीति छाडेको छैनः पूर्वप्रधानमन्त्री भट्टराई
काठमाडाैं- पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले नेतृत्वमा नयाँ पुस्तालाई स्थान दिन र वैकल्पिक शक्तिको निर्माणमा युवा पुस्ताको सहभागिता बढाउन आफू अलग भएको बताएका छन् । बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, “नयाँ शक्तिको अभियान वा आन्दोलनबाट अलग भएको होइन, नैतिक हिसाबले नाति पुस्तालाई अगाडि ल्याउन अध्यक्ष पद त्यागेको हुँ ।”
उनले संविधान संशोधन गरेर प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था नगरेसम्म मुलुकमा राजनीतिक स्थिरता नआउने दाबी गरे । भट्टराईले भने, “संविधान आधा भरिएको गिलास हो । संशोधन गर्न जरुरी छ । प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्थामा नगएसम्म राजनीतिक स्थिरता आउँदैन । नभए यही भ्रष्ट नेताहरू चलखेल गरेर सत्तामा आइरहन्छन् ।”
भट्टराईले पुराना दलहरूले अनुकूलता नआएसम्म चुनाव रोकिन सक्ने चेतावनी पनि दिए । उनले भने, “जेन–जी पुस्ताले निरन्तर दबाब दिन आवश्यक छ । लुकाएको पैसाको आधारमा पुराना नेता फेरि चुनाव जितेर आउन सक्छन् । त्यसलाई रोक्न आयोग बनाएर अनुसन्धान गर्न जरुरी छ ।”
उनले विवेकशील साझा, स्वतन्त्र नेताहरू (जस्तै काठमाडौं महानगर प्रमुख बालेन शाह, धरान मेयर हर्क साम्पाङ) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच सहकार्य आवश्यक रहेको बताए । उनका अनुसार, अब नयाँ र वैकल्पिक शक्तिको उदय बिना पुराना दलले मुलुकलाई सही बाटोमा डोर्याउन सक्दैनन् ।
भट्टराईले अध्यक्ष पदबाट राजीनामा दिए पनि राजनीति नछाडेको बताए । उनले भने, “म कुनै आन्दोलन वा अभियानबाट अलग भएको छैन । देशलाई विकल्प निर्माण गर्ने यात्रामा हिजो पनि थिएँ, आज पनि छु र भोलि पनि रहनेछु ।”



कागजपत्र |
