गलत मुद्दा चलाएको आरोपमा एसएसपी ज्ञवालीमाथि अनुसन्धान गरिने


काठमाडौं – महान्यायधीवक्ताको कार्यालयले प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) श्यामलाल ज्ञवालीलगायत प्रहरी अधिकारीमाथि अनुसन्धान गर्न समिति गठन गरेको छ। सोमबार महान्यायाधिवक्ता रमेश वडालको अध्यक्षतामा बसेको बैठकले समिति गठन गर्ने निर्णय गरेको हो।

अनुसन्धानमा बदनियत राखेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंका तत्कालीन प्रमुख एवंम् एसएसपी ज्ञवालीलगायत प्रहरी अधिकारीमाथि अनुसन्धान गर्न सह–न्यायधीवक्तको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ।

त्रिभुवन विश्वविद्यालयको उत्तरपुस्तिका धुल्याएकोबारे अनुसन्धान नगरेको आरोपमा मुलुकी अपराध संहिता, २०७४ को दफा ९९ बमोजिम बदनियतपूर्वक अनुसन्धान वा अभियोजन गरेको कसुरको सम्बन्धमा परेको उजुरीउपर छानबिन गर्न अनुसन्धान समिति गठन गर्न सकिने व्यवस्था छ।

त्रिविमा स्नातकोतर भौतिकशास्त्र अन्तर्गत क्वान्टम मेकानिक्सका विद्यार्थी आशीष पौडेलले एसएसपी श्यामलाल ज्ञवाली, तत्कालिन परिसरका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौर र मुद्दा शाखाका प्रहरी नायव उपरीक्षक देवीप्रसाद पौडेलविरुद्व प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री समक्ष उजुरी दिएका थिए।

तर, हदम्याद गुजारी बदनियतपूर्वक छानबिन गरी दोषीलाई उन्मुक्ति दिलाएको भन्दै उनले फेरि ११ चैतमा महानगरीय प्रहरी परिसर, टेकुका अनुसन्धान अधिकारी थमनबहादुर खत्री, मुद्दा फाँटका प्रहरी नायब उपरीक्षक (डिएसपी) नरेन्द्र चन्दलगायत उपर मुद्दा दायर गर्न महान्यायाधीवक्ता समक्ष किटानी उजुरी दिएका थिए।

त्रिभुवन विश्वविद्यालयले २०७५ को पुसमा लिएको स्नातकोत्तर तह प्रथम सेमेस्टरको क्वान्टम मेकानिक्सको परीक्षामा पाठ्यक्रम बाहिरबाट प्रश्नपत्र आएको भनी पुनः परीक्षा लिन माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत निकायमा उजुरी परेपछि ती निकायको निर्देशनविपरीत उत्तरपुस्तिका धुल्याइएको थियो।

प्रतिक्रिया