तुइनखोला नजिक खसेको पहिरो पन्छाउन आज दिनभर लाग्ने


चितवन — मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत तुइनखोला नजिक खसेको ठूलो पहिरो पन्छाउन अझै समय लाग्ने भएको छ। मंगलबार अपराह्न करिब पाँच बजे गएको पहिरोका कारण सो सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको हो।

सडक डिभिजन भरतपुरका अनुसार दुवैतर्फबाट मेसिन परिचालन गरी पहिरो पन्छाउने काम भइरहेको छ। तर माटो र ढुंगाको मात्रा धेरै भएकाले बुधबार दिनभर लाग्ने अनुमान गरिएको छ। यस अवधिमा सो सडकखण्डमार्ग बन्द रहने हुँदा यात्रुलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरिएको छ।

सडक डिभिजनले दिएको जानकारीअनुसार साना सवारी चितवनको जुटपानी, शक्तिखोर, मायाँटार हुँदै धादिङको मलेखु पुग्न सक्नेछन्। त्यस्तै, त्रिभुवन राजपथ हुँदै धादिङको नौबिसेबाट मकवानपुरको हेटौँडा निस्कन सकिने व्यवस्था गरिएको छ। हेटौँडाबाट भैंसे, भीमफेदी, कुलेखाने, सिस्नेरी हुँदै दक्षिणकालीतर्फ हलुका सवारीसाधन सञ्चालन गर्न सकिने बताइएको छ।

ठूला सवारीसाधनका लागि पूर्वतर्फबाट कान्ति लोकपथ प्रयोग गरी हेटौँडा, गिंगन, भट्टेडाँडा हुँदै ललितपुरको सातदोबाटो निस्कन सकिनेछ। पोखरा जाने सवारी साधनले बुटवल हुँदै गन्तव्य पुग्न सक्ने तथा साना सवारीका लागि कालीगण्डकी कोरिडोर प्रयोग गर्न सकिने डिभिजन कार्यालयले जनाएको छ। यस्तै, गैँडाकोटबाट तनहुँको भिमाद र पाल्पाको रामपुरसम्म पनि आवागमन गर्न सकिने व्यवस्था गरिएको छ।

दशैंको बेला यात्रु चाप बढेको अवस्थामा बाटो बन्द हुँदा सर्वसाधारण मर्कामा परेका छन्। सडक डिभिजनले यथासिघ्र पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने तयारी भइरहेको जनाएको छ।

प्रतिक्रिया