
तुइनखोलामा ठूलो पहिरो खस्यो, नारायणगढ–मुग्लिन सडक अनिश्चितकालका लागि बन्द
चितवन- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलामा मंगलबार फेरि विशाल सुक्खा पहिरो खसेपछि आवागमन अनिश्चितकालका लागि बन्द भएको छ।
मंगलबार दिउँसो ३:२० बजे खसेको पहिरोले सडक पूर्णरूपमा अवरुद्ध भएको चितवनका एसपी गोविन्द पुरीले जानकारी दिए। इच्छाकामना गाउँपालिका–५ तुइन खोलास्थित सडकमा निरन्तर ढुंगा–माटो खसिरहेका कारण सडक नै भासिने जोखिम रहेकाले सवारी साधनलाई फर्काएर वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरिएको उनको भनाइ छ।
यसअघि बिहान ५:४० बजे धादिङको बेनीघाट–रोराङ गाउँपालिका–१० स्थित जवाङखोलामा खसेको सुक्खा पहिरो करिब १० घण्टापछि मात्र पन्छाइएर सडक खुलाइएको थियो। तर दिउँसो र अपराह्नतिर फेरि तुइन खोलामा ठूला पहिरो खसेपछि सडक बन्द भएको सडक डिभिजन भरतपुरले जनाएको छ।
पहिरो पन्छाउन सडक विभागका झन्डै आधा दर्जन डोजरले काम गरिरहेका बेला अचानक ठूलो भागको पहाड सडकमा खस्दा अनिश्चितकालका लागि सडक ठप्प भएको हो।
गत शुक्रबार साँझदेखि तुइन खोलामा निरन्तर पहिरो खसिरहेका कारण सडक कहिले एकतर्फी, कहिले दुईतर्फी मात्र सञ्चालन हुँदै आएको थियो। तर मंगलबार खसेको पहाडै पल्टिने खालको विशाल पहिरोका कारण दशैंमा घर फर्किरहेका हजारौँ यात्रु बीच बाटोमै अलपत्र परेका छन्।
सडक डिभिजनले वैकल्पिक तीन मार्ग प्रयोग गर्न यात्रुलाई आग्रह गरेको छ।



कागजपत्र |
