मन्त्री सिन्हाको पहिलो निर्णय: भवन पुनर्निर्माणमा स्वदेशी सामग्री प्रयोग


काठमाडौं-  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले सिंहदरबारस्थित मन्त्रालयमा पदबहाली गर्दै पहिलो निर्णयमा क्षतिग्रस्त भवन पुनर्निर्माणमा स्वदेशी सामग्री प्रयोग गर्ने नीति अघि सारेका छन्।

पदबहालीपछि मन्त्री सिन्हाले जेनजी आन्दोलनका क्रममा ध्वस्त भएका संरचना पुनर्निर्माण गर्दा केही महँगो परे पनि स्थानीय उत्पादनलाई प्राथमिकता दिने निर्णयमा हस्ताक्षर गरे। उनले यस कदमले उद्यमशीलता र उद्योगको विकासलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे।

सिन्हाले भने, “अहिलेको मूल उद्देश्य भनेको तत्काल घाइते र सहादत प्राप्त गर्ने परिवारलाई रोजगारीको अवसर दिनु र युवाको सीप विकास तथा व्यवस्थापनमा जोड दिनु हो। युवालाई देशमै बस्ने वातावरण मिलाउन सीप विकास अनिवार्य छ।”

उनले अन्तरिम सरकारको पहिलो लक्ष्य स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण चुनाव गराउने र त्यसपछि निर्वाचित सरकारलाई जिम्मा हस्तान्तरण गर्ने रहेको स्पष्ट पारे। साथै, आगामी निर्वाचनमा नयाँ अनुहारहरू संसदमा देखिने आशा व्यक्त गरे।

मन्त्री सिन्हाले थपे, “छ महिनामा धेरै उपलब्धि हासिल गर्ने अपेक्षा गर्न सकिँदैन। तर कार्यविधि सहज बनाउन, अनलाइन प्रविधिको प्रयोग बढाउन र जेनजीहरूले गरेको योगदान खेर जान नदिने गरी काम गर्नेछौँ।”

प्रतिक्रिया