कतार प्रहरीमा नेपाली लैजाने प्रक्रिया स्थगित श्रम सम्झौताको विषयमा दुबै देश आ-आफ्नै अडानमा


काठमाडौँ – कतारले १० हजार नेपालीलाई प्रहरी सेवामा भर्ना गर्ने प्रक्रिया स्थगित गरेको छ ।

नेपाल र कतारी अधिकारीबीच भर्ना प्रक्रियाको विषयमा सहमति नजुटेपछि कतारले तत्कालका लागि स्थगित गरेको हो ।

कतारले सन् २००५ मै दुई देशबीच श्रम सम्झौता भइसकेको हुँदा त्यही आधारमा प्रहरी सेवामा पनि भर्ना हुनुपर्ने अडान राखेको छ । नेपाल भने सुरक्षाकर्मीका लागि छुट्टै श्रम सम्झौता हुनुपर्नेमा पक्षमा छ । हतियारधारी सुरक्षाकर्मी नभएको हुँदा विशेष सम्झौता आवश्यक नपर्ने कतारको भनाइ छ ।

‘हामीले नेपाल सरकारका सरोकार निकायसँग पनि कुरा राखेका हौं । काठमाडौंस्थित हाम्रो दूतावासमार्फत लिखित रूपमा समेत जानकारी गराएका थियौं, यसलाई सहजीकरण गरिनुपर्ने थियो,’ ती कतारी अधिकारीले भने, ‘हामी अझै सकारात्मक छौं । नेपालीलाई महत्त्वपूर्ण क्षेत्रमा लैजाने हाम्रो योजना छ ।’ गत मंसिरमा ३ सय जनालाई लैजानाका लागि अन्तर्वार्ता गरिएको थियो । त्यसअघि गत वर्ष फागुनमा १ सय ७९ जना लगिएको थियो । उनीहरू प्रहरी सेवामा हाल दोहामा कार्यरत छन् ।

वैदेशिक रोजगार विभागका अनुसार मागपत्र प्राप्त गर्ने म्यानपावर कम्पनीले वैदेशिक रोजगार ऐन बमोजिम भर्ना प्रक्रिया मिच्नाले विवादमा परेको हो । विभागले सोमबार विज्ञप्ति निकाल्दै कतारी प्रहरीको भर्ना प्रक्रियामा चलखेल भइरहेको प्रति ध्यानाकर्षण भएको जनाएको छ ।

वैदेशिक रोजगार ऐनअनुसार मागपत्र प्रमाणीकरण भई अन्तर्वार्तामा छनोट भइसकेपछि मात्रै म्यानपवार कम्पनीको अनुरोधमा रोजगारदाताले भिसा जारी गर्ने व्यवस्था छ । ‘जबसम्म पूर्वस्वीकृति हुँदैन, तबसम्म भर्ना प्रक्रिया सुरु गर्न मिल्दैन,’ विभागका महानिर्देशक कुमार दाहालले भने । मागपत्र प्रमाणीकरणबिना अन्तर्वार्ता लिएको भन्दै विभागले ठूला म्यानपावर कम्पनी एसओएस म्यानपावर सर्भिसेस, डीडी ह्युमेन रिसोर्सेस, होप इन्टरनेसनल र अल-थाक्वेत ओभरसिजमा छापा मारेको थियो ।

विभागले एसओएस, डीडी ह्युमेन रिसोर्सेस र होपलाई ६ महिनासम्म कुनै देशमा पनि श्रमिक पठाउन नपाउने गरी कारोबार नै रोक्का गरेको थियो । तर श्रममन्त्री चौधरीले एसओएसमाथि लागेको निलम्बन फुकुवा गरिसकेका छन् । प्रहरी सेवामा भर्ती हुन २५–३६ उमेर र उचाइ ५।८ फिट तोकिएको छ । करार अवधि भने पछि नवीकरण हुने गरी ५ वर्ष तोकिएको छ । भर्ना हुनेले तालिमको समयमा ३ हजार रियाल र तालिम सकेपछि भने ६ हजार रियाल पाउनेछन् ।

प्रतिक्रिया