६ महिनापछि बिदा हुन्छु : प्रधानमन्त्री कार्की


काठमाडौं- नवनियुक्त अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आफू पदको रस्वादन गर्न नभई बाध्यतावश जिम्मेवारी लिन आएको बताएकी छिन्। आइतबार सिंहदरबारमा पदभार ग्रहण गर्दै उनले ६ महिनाभित्र चुनाव सम्पन्न गरी पद हस्तान्तरण गर्ने अठोट व्यक्त गरिन्।

उच्च पदस्थ कर्मचारीसँगको छलफलमा प्रधानमन्त्री कार्कीले भनिन्, “म रहरले आएको होइन। सडक र जनताबाट सुशीला कार्कीलाई जिम्मा देऊ भन्ने आवाज उठ्यो। त्यसपछि विवश भएर यो जिम्मेवारी स्वीकार गरेकी हुँ। मेरो उमेर पनि होइन, सत्ताको स्वाद लिन आएको होइन। ६ महिनापछि कुनै हालतमा नबस्ने, नयाँ आउने सांसद र मन्त्रीलाई दायित्व सुम्पेर मुक्त हुने हो।”

प्रधानमन्त्री कार्कीले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा मुलुकका अपरिहार्य संस्थालाई योजनाबद्ध रूपमा निशाना बनाइएको आरोप लगाइन्। “२७ घण्टामै जनधनको ठूलो क्षति भयो। ४० भन्दा बढी युवाको मृत्यु भयो। सर्वोच्च अदालत, सिंहदरबार, तराईका जिल्ला अदालतदेखि उच्च अदालतसम्मका फाइल, रेकर्ड, प्रमाण सबै नष्ट भए,” उनले भनिन्।

कार्कीका अनुसार सुरक्षाकर्मीको समेत ज्यान गएको छ भने देशभरका चौकी, सवारीसाधन र भवनमा ठूलो क्षति पुगेको छ। “भौतिक संरचना फेरि बनाउन सकिन्छ तर मिसिल, रेकर्ड र प्रमाण जलेर शून्यमा पुगेका छौँ,” उनले दुःख प्रकट गरिन्।

प्रधानमन्त्रीले यसपटकको हिंसा सामान्य नभई ‘टिपिकल’ र योजनाबद्ध भएको टिप्पणी गरिन्। “सुरक्षाकर्मीमाथि प्रहार, चौकी र अदालतका फाइल जलाइयो, सिंहदरबारका महत्त्वपूर्ण कागजात खरानी भए। यस्तो देख्दा नेपाली भन्न लाज लाग्छ,” उनले भनिन्।

कार्कीले घटनाबारे छानबिन गरेर अनिवार्य संस्था नष्ट गर्नेहरूलाई कारबाही गर्नुपर्ने बताइन्। “यो योजनाबद्ध षड्यन्त्र हो। अनुसन्धान गरेर दोषीलाई कारबाही गर्नैपर्छ,” प्रधानमन्त्री कार्कीको भनाइ छ।

यससँगै उनले अन्तरिम सरकारलाई सफल बनाउन सुरक्षाकर्मी र सबै सरकारी निकायलाई सहयोग गर्न आग्रह गरिन्।

प्रतिक्रिया