निर्मलाको हत्यारा खोज्न पूर्वप्रहरीसमेत परिचालन !


काठमाडौं – कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरण सुल्झाउने तयारीमा नेपाल प्रहरी छ। लामो समयसम्म निर्मलाको हत्यारा पत्ता लगाउन असफल भएपछि चौतर्फी आलोचना खेप्दै आएको प्रहरीले निर्मलाको हत्यारा पत्ता लगाएको दावी गरेको छ।

लामो समयपछि निर्मला प्रकरणमा सफलता मिलेको दाबी गरेको सुदूरपश्चिम प्रहरीले अनुसन्धानका क्रममा पूर्व प्रहरीहरूको पनि सहयोग लिएको स्रोतको दाबी छ । स्रोतका अनुसार सुदूरपश्चिम प्रहरी प्रमुख नायब महानिरीक्षक (डिआईजी) उत्तम सुवेदीले सो क्षेत्रका पूर्वप्रहरीलाई समेत हातमा लिएर अनुसन्धानलाई नयाँ शैलीबाट उठाएका थिए।

स्थानीयसँगै लामो समय घुलमिल गरेका प्रहरीले हत्यारा पत्ता लगाएको र छिट्टै सार्वजनिक गर्ने तयारी समेत गरेको प्रहरी स्रोतको दाबी छ । ‘निर्मला पन्त हत्याका अभियुक्त पत्ता लागेको र छिट्टै सार्वजनिक गर्ने तयारी भइरहेको छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने।

सरकार र प्रहरी संगठनलाई टाउको दुखाईको बिषय बनेको थियो-निर्मला प्रकरण । केही प्रहरीलाई अभियुक्त बस्न सक्ने सम्भावित ठाँउको पहिचान गरी विभिन्न भेषमा परिचालन गरिएको थियो । त्यहाँका लागि सादा पोशाकका प्रहरी लामो समयदेखि स्थानीयसँग घुलमिल गरेका थिए।

उनीहरु विभिन्न वाहानामा स्थानीयसँग घुलमिल गरेपछि हत्याका विषयमा नजानिँदो तरिकाले कुराहरु गर्ने गरेको प्रहरी स्रोतले जानकारी दिएको छ। त्यसपछि घटनामा भेटिएका प्रमाण र ति व्यक्तिका विषयमा प्रहरीले केही समय अगाडिदेखि नै अनुसन्धान गरिरहेको छ।

प्रहरी स्रोतकाअनुसार अझै पनि हत्याराको आरोपी व्यक्ति पक्राउ भने परेका छैनन्। उनलाई अझै कडा निगरानीमा राखिएको र छिट्टै पक्राउ गरी सार्वजनिक गर्ने योजनामा प्रहरी रहेको छ।

निर्मलाको हत्या भएको तीन वर्ष पुग्न लाग्दा निकै सुक्ष्म अनुसन्धानपछि त्यसलाई निष्कर्षमा पुर्याएको दावीसँगै हत्यारा छिट्टै सार्वजनिक गर्ने तयारी भइरहेको नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त कुँवरले जानकारी दिए।

यसअघि हत्याको आशंकामा केही व्यक्तिलाई पक्राउ गर्दा कञ्चनपुरमा मात्र नभए देशभर आन्दोलनको स्थिति बनेको थियो। तर, पछि सो आन्दोलन गलत रहेको पनि कति अनुसन्धानले देखाएको थियो।

प्रहरीले शुरूमा कञ्चनपुरको भीमदत्त नगरपालिकाका दिलिपसिंह विष्टलाई प्रहरीले सार्वजनिक गरेको थियो। तर पछि प्रमाण नपुगेको भन्दै छाड्नु परेको थियो। तर, यसपटक भने त्यस्तो अवस्था नआउने र प्रमाणसहित अदालतमा बुझाउने प्रहरीको भनाइ छ।

निर्मलाको गत १० साउन २०७५ मा घरनजिकैको उखुबारीमा शव फेला परेको थियो।

 

यो पनि हेर्नुहोस्

एक बर्षदेखि अन्डरकभर अप्रेशन, फिल्मी शैलीमा टुंगिदैछ निर्मला पन्त प्रकरण

प्रतिक्रिया