सरकारको बर्बरताप्रति अमेरिकासहित ७ देशका राजदूतको विज्ञप्ति, ‘मौलिक अधिकार सुनिश्चित गर’


काठमाडौं – सरकारले सोमबार जेनजीहरुको प्रदर्शनमा गरेको बर्बरताप्रति विभिन्न ७ देशका दूताबासहरुले संयुक्त वक्तव्य जारी गरेका छन् ।

सामाजिक सञ्जाल बन्दविरुद्धको आन्दोलनमा १९ जनाले ज्यान गुमाएपछि काठमाडौंमा रहेका अमेरिकासहित ७ देशका दूतावासले संयुक्त वक्तव्य जारी गरेर सबै पक्षलाई अधिकतम संयमता अपनाउन अपिल गरेका छन् ।

अस्ट्रेलिया, फिनल्याण्ड, फ्रान्स, जापान, कोरिया गणतन्त्र, बेलायत र संयुक्त राज्य अमेरिकाका नेपालस्थित दूतावासहरूबाट संयुक्त वक्तव्य आएको हो ।

‘हाम्रा सरकारहरूले शान्तिपूर्ण सभा र अभिव्यक्तिको स्वतन्त्रताको सार्वभौमिक अधिकारप्रति आफ्नो दृढ समर्थन पुनः व्यक्त गर्दछ,’ वक्तव्यमा भनिएको छ, ‘हामी सबै पक्षलाई अधिकतम संयम अपनाउन, परिस्थितिलाई थप बिग्रिन नदिई शान्तिपूर्ण तरिकाले समाधान खोज्न तथा यी मौलिक अधिकारहरूको पूर्ण संरक्षण सुनिश्चित गर्न आग्रह गर्दछौं।’

यसअघि राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयले पनि शान्तिपूर्ण भेला र अभिव्यक्ति स्वतन्त्रताको अधिकारको सम्मान र सुनिश्चितता गर्न आग्रह गरेको थियो ।

संयुक्त प्रेस विज्ञप्ति

अस्ट्रेलिया, फिनल्याण्ड, फ्रान्स, जापान, कोरिया गणतन्त्र, बेलायत, नर्वे, जर्मनी, र संयुक्त राज्य अमेरिकाका नेपालस्थित दूतावासहरूबाट :
हामी काठमाडौं तथा नेपालका अन्य स्थानहरूमा आज देखिएका हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछौं। यी घटनाहरूका कारण ज्यान गुमाउने दुःखद अवस्था उत्पन्न भएको र कैयौं घाइते भएकोमा हामी संवेदनशील भएका छौं।
पीडित परिवारजन, प्रभावित व्यक्तिहरूप्रति हामी हार्दिक समवेदना प्रकट गर्दछौं। साथै, घाइते सबैलाई शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं।
हाम्रा सरकारहरूले शान्तिपूर्ण सभा र अभिव्यक्तिको स्वतन्त्रताको सार्वभौमिक अधिकारप्रति आफ्नो दृढ समर्थन पुनः व्यक्त गर्दछ। हामी सबै पक्षलाई अधिकतम संयम अपनाउन, परिस्थितिलाई थप बिग्रिन नदिई शान्तिपूर्ण तरिकाले समाधान खोज्न तथा यी मौलिक अधिकारहरूको पूर्ण संरक्षण सुनिश्चित गर्न आग्रह गर्दछौं।

प्रतिक्रिया