रुखमा उल्टो झुन्ड्याएर कुटपिट: नसिव बैठाको उपचारका क्रममा निधन


रौतहट – मोबाइल चोरीको आरोपमा कुटपिट गरिएका रौतहट कटहरिया नगरपालिका–४ बहादुरपुरका २८ वर्षीय दलित युवा नसिव बैठाको मृत्यु भएको छ। वीरगञ्जस्थित स्पोर्ट अस्पतालमा उपचाररत अवस्थामा ११ भदौ बिहान उनको निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मृतकका भाइ दर्शन बैठाका अनुसार १६ र १७ साउनमा स्थानीय गर्भुदयाल सर्भङ्ग, सञ्जय यादव, विजय यादव र शिवनाथ यादवले नसिवलाई चोरीको आरोप लगाउँदै रुखमा उल्टो झुन्ड्याएर बेल्ट, साइकल चेन र मुक्काले निर्घात कुटपिट गरेका थिए। प्रहरीलाई खबर दिइएपछि उद्धार गरिए पनि चोरीको पुष्टि नभएपछि उनलाई सोही दिन छाडिएको थियो।

कुटपिटपछि पेट र छाती दुखाइ बढ्दै गएपछि विभिन्न अस्पतालमा उपचार गराइए पनि सुधार नआएपछि वीरगञ्जमा भर्ना गरिएको थियो। त्यही क्रममा उनको मृत्यु भएको परिवारको दाबी छ।

नसिवका चार स–साना छोरा छन्। आर्थिक अवस्था नाजुक रहेको उनका परिवारले न्याय माग गर्दै चारजनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गराएका छन्। हाल गर्भुदयाल पक्राउ परेका छन् भने अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ।

श्रीमती गीताले दोषीलाई कडा कारबाही हुनुपर्छ भन्दै क्षतिपूर्ति पनि माग गरेकी छन्।

प्रतिक्रिया