४ हजार घरपरिवारकाे उज्यालो माग्दै बोलन्या थलीको ‘लालटिन आन्दोलन’


काठमाडाैं- बोलन्या थलीले काठमाडौंको माइतीघर मण्डलामा लालटिन आन्दोलन गरेको छ। अछामका करिब ४ हजार घरपरिवार अझै पनि अन्धकारमा बस्नुपर्ने बाध्यता भएकाले त्यसकाे विराेधमा शुक्रबार लालटिन आन्दोलन आयोजना गरेको थलीका संयोजक यादव जोशीले बताए ।

उनका अनुसार तुर्माखाँद गाउँपालिकाकाे भुलु र रहफ, ढकारी गाउँपालिकाको बलाता, कमलबजार नगरपालिकाको कवाल्लेक, जामा र फलटाने क्षेत्रमा बसोबास गर्ने करिब ४ हजार परिवारको लागि विद्युतीकरणको माग गर्दै बोलन्या थलीले  लालटिन बालेर सरकार र प्राधिकरणको विरोध प्रदर्शन गरेको हो।

डडेल्धुराको गन्यापधुरा–२ का जोशी पश्चिम सेती जलविद्युत आयोजना निर्माण संघर्ष समितिका प्रमुख समेत हुन्। उनले पश्चिम सेती अभियान, डोको अभियान, प्रधानमन्त्रीलाई एक लाख पत्र अभियान, बयल गाडा अभियान र जातीय विभेद विरुद्धको अभियान चलाइसकेका छन् ।

साथै कोरोना कालमा प्राणको सुरक्षाका लागि पाँच सय अभियान समेत सञ्चालन गरेका जोशीले डडेल्धुरामा पुइलेक विमानस्थल निर्माण, सडक स्तरोन्नति र अन्य विकास अभियानमा पनि नेतृत्व गरेका छन्।

यस्तै, जोशीले सुदूरपश्चिमको कला र संस्कृति प्रवर्धनका लागि ‘बोल बोल बोलन्या थली’ गीत समेत बजारमा ल्याइसकेका छन्।

प्रतिक्रिया