काठमाडौं प्रहरीको नजरमा परेपछि ‘कमल बुकी’को जुवा साम्राज्य नुवाकोटमा, १० लाखसहित समातिए


काठमाडाैं- प्रहरीले नुवाकोटको शिवपुरी गाउँपालिका–५ गुर्जेस्थित बार्दलीइन होटलबाट प्रहरीले कौडा खेलाउने गिरोहसहित २२ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ६ जना महिला पनि रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट प्रहरी नायब उपरीक्षक बिक्रम लामाको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । टाेलीले १० लाख ७१ हजार ६ सय रुपैयाँ र ३१ थान कौडा बरामद गरेकाे छ।

पक्राउ परेका २२ जनामाथि जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट जुवा सम्बन्धी कसुरमा ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बिक्रम लामाले बताए।

पक्राउ परेका व्यक्तिहरूमध्ये जुवा खेलाउने नुवाकोटका सुजन तामाङ र बुटवलका ‘कमल बुकी’ भनेर चिनिने कमल ज्ञवाली पनि रहेका छन्।  उनीहरूले विगतदेखि काठमाडौंमा पेशेवर रूपमा जुवा खेलाउँदै आएको र पूर्व प्रहरी कमल ज्ञवालीले प्रहरी जागिर छाडेर जुवा व्यवसायमा लागेको प्रहरीले स्रोतले बताएकाे छ।

पक्राउ परेका गिरोहका सदस्यहरूले काठमाडौंको टोखा क्षेत्रमा समेत प्रविधिको प्रयोग गरी योजनाबद्ध तरिकाले जुवा खेलाएर करोडौंको लुटपाट गर्दै आएका थिए। उनीहरूको जुवा खेलाउने प्रविधि अत्याधुनिक डिभाइस प्रयोग गरेर खेल नियन्त्रण गर्ने किसिमको रहेको थियो। सो घटनामा खेल चलाइरहेका बुकीहरू भने फरार भएका थिए ।

स्राेतका अनुसार कमलले काठमाडौंमा जुवा हाँकेर करिब ५० करोड जम्मा गरिसकेका छन्। त्याे रकम उनले मिटरब्याजमा लगाउँदै आएको बताइएको छ।

काठमाडौं प्रहरीको निगरानी बढेपछि कमल ज्ञवाली र उनका सहकर्मीहरूले कामठाडाैंकाे सीमा क्षेत्र धादिङ र नुवाकोटमा जुवा खेलाउन थालेका थिए। प्रहरी स्रोतका अनुसार उनीहरूले राजधानीको टोखा क्षेत्रमा योजनाबद्ध तरिकाले जुवा खेलाएर ठूलो रकम उठाएको र गिरोह लामो समयदेखि सक्रिय रहेको देखिन्छ।

यो पनि:

EXCLUSIVE: काठमाडौंमा ‘डिभाइस’ जोडेर यसरी हुन्छ जुवामा लुटपाट [भिडिओसहित]

प्रतिक्रिया