
हत्या स्वीकार गरेर आत्मदाह प्रयास गर्ने लक्ष्मण काठमाडौं रेफर
रौतहट – माधव नारायण नगरपालिका–६ माधोपुरकी रुबी साहको हत्या प्रकरणमा मुख्य अभियुक्त लक्ष्मण पासवानले अपराध स्वीकार गरेका छन्।
आफ्नै शरीरमा आगो लगाउनुअघि उनले करिब नौ मिनेट लामो भिडियो सन्देश रेकर्ड गर्दै रुबीको हत्या आफूले नै गरेको बताएका हुन्। सो भिडियोमा उनले रुबीकी आमा नै घटनाकी प्रमुख दोषी रहेको दाबी गरेका छन्।
प्रहरीका अनुसार माधव नारायण–६ स्थित खेतमा पासवानको जलेको शरीर फेला परेको हो। आफ्नै शरीरमा आगो लगाएर गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्रहरी निगरानीमा अस्पताल भर्ना गरिएको छ।
गत आइतबार सुटकेसभित्र मृत भेटिएकी रुबी विगत केही समयदेखि गौरमा आमासँग बस्दै आएकी थिइन्। घटनापछि अनुसन्धान अघि बढ्दा प्रहरीको ध्यान पासवानतर्फ गएको थियो।
भिडियो सन्देशमा पासवानले रुबीसँग कक्षा १० मा पढ्दा प्रेम सम्बन्ध सुरु भएको र पछि जिल्ला अदालत सर्लाही र भारतको सीतामढीस्थित अदालतमा विवाह दर्ता गरे पनि दुवै पक्षका परिवारले विवाह स्वीकार नगरेको बताए। उनले रुबीकी आमाले पैसाको प्रलोभनमा परेर छोरीलाई अन्य युवासँग सम्बन्ध बनाउन बाध्य पारेको समेत आरोप लगाएका छन्।
पासवानले भिडियोमा आफू गरिब भएको कारण रुबीलाई आफ्नो साथमा बस्न नदिइएको र धनी परिवारमा जबरजस्ती विवाह गराइदिएको गुनासो गरेका छन्। भारतको मुजफ्फरपुरका शिवसागर साहसँग रुबीको विवाह गराइएपछि पनि उनीहरूमध्ये सम्बन्ध टुटेको थिएन।
हत्या भएको रात दुबै जना मर्ने सहमति भएको समेत पासवानले भिडियोमा उल्लेख गरेका छन्। तर, कसरी हत्या गरे भन्ने विवरण भने खुलाएका छैनन्। उनले आफू जेल जान नचाहेको, रुबीलाई भेट्न गएको मात्रै भएको र यस घटनामा पक्राउ परेका रिक्सा चालक निर्दोष रहेको दाबी गरेका छन्।
भिडियोमा उनले रुबीको नाम र फोटोको ट्याटु समेत देखाएका छन्। अहिले गम्भीर घाइते अवस्थामा रहेका उनलाई गरुडा स्थित अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौंस्थित कीर्तिपुर बर्न सेन्टर रेफर गरिएको प्रहरीले जनाएको छ।



कागजपत्र |
