वीरगञ्जका सम्पूर्ण विद्यालय तीन दिनका लागि बन्द


वीरगञ्ज — हैजाको संक्रमणको जोखिम बढेसँगै वीरगञ्ज महानगरपालिकाले क्षेत्रभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ।

नगरप्रमुख राजेशमान सिंहको अध्यक्षतामा सोमबार बसेको बैठकले भदौ ११ देखि १३ गतेसम्म विद्यालयहरूमा पठनपाठन स्थगित गर्ने निर्णय गरेको हो। तर विद्यालय बन्द भए पनि शिक्षक र कर्मचारीहरूलाई भने हैजा नियन्त्रण र जनचेतनामूलक अभियानमा सक्रिय सहभागी गराइनेछ।

महानगरपालिकाको शिक्षा प्रशासन महाशाखाले जारी गरेको विज्ञप्तिअनुसार शिक्षक तथा कर्मचारीहरूलाई टोली बनाएर समुदायमा खटाइनेछ। उनीहरूले सरसफाइ, सुरक्षित पानीको प्रयोग, स्वास्थ्य सतर्कताजस्ता विषयमा जनतालाई सचेतना दिनेछन्।

यसका लागि आवश्यक पर्ने पोस्टर, पम्प्लेटलगायतका सामग्रीहरू शिक्षा प्रशासन महाशाखाबाट उपलब्ध गराइने बताइएको छ। विद्यालयस्तरमै प्रधानाध्यापकको नेतृत्वमा शिक्षक तथा कर्मचारी परिचालित हुने व्यवस्था मिलाइनेछ। साथै नेपाल शिक्षक महासंघ, प्याब्सन र एनप्याब्सनका नगर समिति सदस्यहरूसँग पनि अभियानमा आवश्यक समन्वय गर्न अनुरोध गरिएको छ।

वीरगञ्जमा गत शुक्रबारदेखि हैजाको संक्रमण देखिएको र त्यसपछि जोखिम बढ्दै गएको छ।

प्रतिक्रिया