
नेपालमा फेसबुक पेज मनिटाइजेसन सुविधा आवश्यक : सांसद बस्नेत
काठमाडौं- नेकपा (माओवादी केन्द्र) की सांसद ज्ञानु बस्नेत सुवेदीले नेपालमा फेसबुक पेज मनिटाइजेसन सुविधा नहुँदा हजारौँ कन्टेन्ट क्रिएटरहरू आर्थिक रूपमा प्रभावित भएको बताएकी छन्।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारसँग तत्काल फेसबुकसँग औपचारिक वार्ता गरेर यो समस्या समाधान गर्न माग गरिन्।
सांसद बस्नेत सुवेदीले भनिन्, “नेपालमा फेसबुक पेज मनिटाइजेसन सुविधा उपलब्ध नभएकाले हजारौँ कन्टेन्ट क्रिएटरहरू आर्थिक रूपमा प्रभावित भएका छन्। यसले रोजगारी सिर्जना, डिजिटल उद्यमशीलता र अन्तर्राष्ट्रिय स्तरमा नेपाली सामग्रीको पहुँचमा समेत बाधा पुर्याइरहेको छ।”
उनले थपिन्, “क्रिएटरहरूले आफ्नो सिर्जनशीलता, समय र स्रोत प्रयोग गरेर तयार पारेको सामग्रीबाट आम्दानी गर्न नपाउँदा डिजिटल क्षेत्रमा प्रतिभा पलायन हुन सक्ने खतरा बढेको छ।”
सांसदले सरकारलाई आग्रह गरिन् कि फेसबुकसँग औपचारिक वार्ता गरेर नेपालमा मनिटाइजेसन सुविधा लागु गराउन आवश्यक छ। उनले विश्वास व्यक्त गरिन् कि मनिटाइजेसन सुविधा उपलब्ध भए नेपाली कन्टेन्ट क्रिएटरहरूले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागिता जनाउन सक्ने र हजारौँ युवाहरूका लागि स्वरोजगारका अवसर सिर्जना हुनेछन्।



कागजपत्र |
