
विपिन जोशी प्रकरणलाई पहिलो प्राथमिकतामा राखेकी छु : परराष्ट्रमन्त्री राणा
काठमाडौं- परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली नागरिक विपिन जोशीको रिहाइका लागि परराष्ट्र मन्त्रालयले अधिकतम रूपमा कूटनीतिक पहल जारी राखेको बताएकी छन् ।
फेसबुकमार्फत् जानकारी दिँदै उनले आफू परराष्ट्रमन्त्री बनेयता यो विषयलाई प्राथमिकतामा राखेर काम गरिरहेको स्पष्ट पारिन् ।
‘परराष्ट्रमन्त्रीमा नियुक्त भएपछि यो मुद्दालाई पहिलो प्राथमिकतामा राखेकी हुँ । विगत एक वर्षयता म सहभागी भएका राष्ट्रसंघीय महासभा, अन्तर्राष्ट्रिय मञ्च, विभिन्न द्विपक्षीय तथा बहुपक्षीय बैठक र भेटवार्तामा विपिनको शीघ्र रिहाइका लागि विशेष आग्रह गरिरहेकी छु,’ उनले लेखेकी छन् ।
उनका अनुसार विपिनको रिहाइ सुनिश्चित गर्न मन्त्रालयले कुनै कसर बाँकी नराखी पहल गरिरहेको छ । यसलाई सरकारले आफ्नो दायित्वको रूपमा लिएको भन्दै उनले हालै परराष्ट्र मन्त्रालयको सिफारिसमा र इजरायल सरकारको सहयोगमा विपिनकी आमा र बहिनी इजरायल पुगेको पनि स्मरण गरिन् । जोशी परिवारले इजरायली राष्ट्रपति समेतलाई भेटेर विपिनको रिहाइका लागि अपिल गरेका छन् ।
गत असोजमा न्यूयोर्कमा सम्पन्न संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी हुँदा समेत मन्त्री राणाले विश्व नेताहरू, जी–७७ प्लस, जी–२०, एलडीसी समूह लगायतका बैठकमा विपिनको विषय उठाएर अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएकी थिइन् । त्यस्तै, दोहामा आयोजित एसिडी सम्मेलनमा सम्बोधन गर्दा र साइडलाइन भेटहरूमा समेत उनले यही मुद्दा उठाएकी थिइन् ।
युद्धविरामको पहल सुरु भएपछि संलग्न देशका विदेशमन्त्रीहरूसँग फोनवार्ता र नेपालस्थित राजदूतहरूसँग प्रत्यक्ष भेटेर समेत उनले सहयोगको आग्रह गरेकी छिन् ।
मन्त्री राणाले नेपाल सरकारले निरन्तर रूपमा कूटनीतिक पहललाई सक्रिय राखेको उल्लेख गर्दै इजरायल र हमासबीच युद्धविरामको गृहकार्य सुरु भएपछि तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई बन्दीहरू रिहा गर्न दबाब दिएको प्रसङ्गमा पनि सरकारले थप सक्रियता देखाएको बताएकी छन् ।



कागजपत्र |
