मुख्यमन्त्री बानियाँद्वारा निवास र कार्यालय खर्चमा ५० प्रतिशत कटौतीको घोषणा


काठमाडाैं- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री निवास तथा कार्यालयमा हुने सुविधा र बन्दोबस्ती खर्च ५० प्रतिशतले कटौती गर्ने घोषणा गरेका छन्।

बुधबार प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै उनले आफ्नो कार्यकालमा सुशासन, पारदर्शिता र जवाफदेहीतासहित काम गर्ने प्रतिवद्धता व्यक्त गरे। उनले पहिलो मन्त्रिपरिषद बैठकबाट प्राप्त सेवा सुविधा वापतको रकम निर्वाचन क्षेत्रमा रहेका गरिब विपन्नको घर निर्माणमा खर्च गर्ने बताए।

मुख्यमन्त्री बानियाँका अनुसार, उनले मासिक सुविधा वापत प्राप्त रकमबाट प्रदेशका ३० वटा वडामा रहेका सबैभन्दा विपन्न परिवारको घर दशैँअघि निर्माण गरी हस्तान्तरण गर्ने योजना बनाएका छन्।

उनले आफ्नो क्याबिनेटले गरिव-निमुख वर्गका लागि छात्रवृत्ति वितरण गर्ने निर्णय पनि गरेको बताए। आर्थिक अवस्था कमजोर भएकाले पढ्न नसक्ने सीमान्तकृत जातजाती, वनकरिया, थामी, चेपाङ, जिरेल, पहरीलगायतका समुदायका विद्यार्थीसम्म छात्रवृत्ति पुग्नेछ।

त्यसैगरी, सरकारले भूकम्प, बाढीलगायत विपद् व्यवस्थापनलाई प्राथमिकतामा राख्दै पुनर्निर्माण, जोखिम न्यूनीकरण र पूर्वतयारीमा ध्यान दिने उनले स्पष्ट पारे।

प्रतिक्रिया