
बालिकालाई हाकिमसँग यौन सम्बन्ध राख्न फकाउने कार्यालय सहयोगी पक्राउ
ओखलढुंगा- कार्यालयका हाकिमसँग यौन सम्बन्ध राख्न भन्दै १३ वर्षीया बालिकालाई फकाएको आरोपमा जिल्ला खेलकुद विकास समिति, ओखलढुंगाकी कार्यालय सहयोगी प्रमिला विश्वकर्मा पक्राउ परेकी छिन् । बालिकाले दिएको जाहेरीका आधारमा उनलाई साउन २१ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।
बालबालिकासम्बन्धी ऐनअन्तर्गत बालयौन दुराचारको कसुरमा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा प्रमिलाले कार्यालय प्रमुख बालकुमार खनालका लागि बालिकालाई फकाएको स्वीकार गरेकी छिन् । खनाल भने फरार छन् ।
पीडित बालिका कक्षा ८ मा अध्ययनरत छिन् । उनका आमाबुबा रोजगारीका लागि भारतमा रहेका कारण उनी बहिनीको साथमा आफन्तको घर नजिकै डेरा लिएर बस्दै आएकी थिइन् । खेलमैदानमा भएको चिनजानपछि प्रमिलाले बारम्बार विभिन्न प्रलोभन देखाउँदै हाकिमसँग सम्बन्ध राख्न दबाब दिएकी थिइन् ।
बालिकाले साथीको सहयोगमा प्रमिलासँगको करिब २५ मिनेट लामो अडियो रेकर्ड गरेकी थिइन्, जसमा प्रमिलाले “मोबाइल किनिदिन्छु, खर्च दिन्छु, ठूला मान्छेसँग संगत गर्नुपर्छ” जस्ता कुरा गरेको सुनिन्छ । प्रमिलाले अडियोमा भएको आवाज आफ्नै भएको स्वीकार गरिसकेकी छिन् ।
प्रहरीका अनुसार फरार रहेका कार्यालय प्रमुख खनालको खोजीका लागि विराटनगर, ओखलढुंगा र काठमाडौंमा निगरानी बढाइएको छ ।



कागजपत्र |
