रोजगारीको यात्राबाट फर्किन नपाएका बाजुराका रमेश र प्रिया


काठमाडाैं- भारतको उत्तराखण्डमा गएको विनाशकारी बाढीपहिरोमा परी रोजगारीका सिलसिलामा पुगेका बाजुराका एक दम्पतीको ज्यान गएको छ।

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–२ का २३ वर्षीय रमेश बुढा र उनकी २१ वर्षीया पत्नी प्रिया बुढाको मृत्यु साउन २० गते उत्तराखण्डको उत्तरकाशी जिल्लाको धराली गाउँमा भएको आकस्मिक बाढीपहिरोमा भएको हो।

घटनास्थलमा आएको आकस्मिक बाढी र पहिरोले उनीहरूको जीवन अकालमै अन्त्य गरिदियो। रोजगारीका लागि छिमेकी मुलुक पुगेका रमेश र प्रिया दुबै जना प्राकृतिक प्रकोपको चपेटामा परी सदाका लागि संसारबाट विदा भए।

सोही घटनामा गाउँपालिकाका २४ जना विभिन्न मात्रामा घाइते भएका छन्। घाइते हुनेमा स्वामीकार्तिक खापर–१ का प्रकाश बुढा (३६), पछना बुढा (२४), धन बुढा (२७), महेन्द्र महतारा (२८), जयन्द्र बुढा, वडा नम्बर २ का पसे बुढा (४९), दिनेश बुढा (२९), मानबहादुर बुढा (४२), रजबहादुर महतारा (३२), जनेश बुढा, पछी महतारा, बिर बुढा, वर्षनी बुढा रहेका छन्।

त्यस्तै ७ महिनाकी बालिका अपसरा बुढा, बादल बुढा (३), मादप महतारा (२९), विपना बुढा, दिपेन्द्र महतारा (३४), मानबहादुर बुढा (३०), विष्णा बुढा, पल्लव महतारा, रुप्सा बुढा, पुष्पराज बुढा र रुप्स बुढा घाइते सूचीमा परेका छन्।

गाउँपालिकाले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेको छ।

 

 

प्रतिक्रिया