
धनकुटाकाे टेकुनालामा पिकअप दुर्घटना, १७ जना घाइते
धनकुटा- धनकुटा नगरपालिका–८ स्थित टेकुनालामा आज विहान करिब साढे १० बजे एक पिकअप भ्यान दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। टेकुनालाबाट धनकुटा बजारतर्फ आउँदै गरेको को २ च २३०९ नम्बरको पिकअपमा सवार २१ मध्ये १७ जना घाइते भएका हुन्।
घाइतेहरूलाई तत्काल उद्धार गरेर जिल्ला अस्पताल धनकुटामा लगिएको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाले जानकारी दिएको छ कि घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ र तीलाई थप उपचारका लागि धरानस्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा पठाइएको छ। बाँकी घाइतेहरूको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ।
गम्भीर घाइतेमध्ये धनकुटा नगरपालिका–७ का ६२ वर्षीय गुणराज श्रेष्ठ, सोही ठाउँका ३८ वर्षीय जीत बहादुर श्रेष्ठ र धनकुटा नगरपालिका–८ बस्ने ४५ वर्षीया रेनुका राई रहेका छन्। उनीहरू आज गाईजात्राका लागि धनकुटा बजारतर्फ जाँदै थिए।
धनकुटा प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।



कागजपत्र |
