देउवा, ओली र प्रचण्डले राजनीतिबाट सन्यास लिएको दिन खुसी म हुन्छु : गगन थापा


काठमाडाैं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको राजनीति ‘डेलिभरी गर्न नसक्ने मोड’ मा पुगेर अड्किएको टिप्पणी गरेका छन्।

आइतबार काठमाडौंमा आयोजित युवासँग जनप्रतिनिधि युवा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकैपटक राजनीतिबाट सन्यासको घोषणा गर्ने दिन आफू सबैभन्दा खुशी हुने बताएका छन्।

उनले भने, “यदि देउवा, ओली र प्रचण्डले आजको दिनबाट ‘हामी अब राजनीतिबाट सन्यास लिन्छौं’ भन्नुभयो भने म अत्यन्त खुशी हुने थिएँ। यो मैले अवमूल्यन गरेर भनेको होइन। उहाँहरुप्रति ठूलो सम्मान छ, उहाँहरुले देशका लागि ठूलो योगदान दिनु भएको छ। तर अहिले नेपालको राजनीति डेलिभरी गर्न नसक्ने अवस्थामा पुगेको छ।”

थापाले नेपाली राजनीतिप्रति अहिले ‘वितृष्णा’ पैदा भएको उल्लेख गर्दै यसलाई “फोहोर जमेको पोखरी” जस्तै भएको बताएका छन्। आफू युवा हुँदादेखि नै देशको ठूला नेताका रूपमा यिनै नेताहरुलाई देख्दै आएको र अब ५० वर्ष पुग्न लाग्दा समेत उही अनुहारको वर्चस्व रहनु लोकतान्त्रिक अभ्यासका लागि स्वस्थ नहुने उनको भनाइ छ।

उनले पार्टीमाथि पहिला नियन्त्रण गर्ने र त्यसैको माध्यमबाट मुलुकको राजनीति नियन्त्रण गर्ने प्रवृत्ति अन्त्य गर्न आवश्यक रहेको पनि जोड दिए।

“लोकतन्त्रमा नेताहरु पुस्ता फेरिँदै जानुपर्छ। तर म युवा हुँदा जस्तै अहिले पनि देशको सबैभन्दा ठूलो नेता देउवा, ओली र प्रचण्ड नै हुनु अस्वाभाविक हो। यो संरचना नबदलेसम्म राजनीति सफा र परिणाममुखी बन्न सक्दैन,” थापाले भने।

प्रतिक्रिया