शेयर कारोबारी दीपेन्द्र अग्रवालपछि जयन्त श्रीवास्तव पनि पक्राउ


काठमाडौं — ११ करोड ५५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा शेयर कारोबारी तथा सिप्रवी सेक्युरिटिज (ब्रोकर नम्बर २२) का महाप्रबन्धक जयन्त श्रीवास्तव पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका सहायक प्रवक्ता मोहनमणि अधिकारीका अनुसार श्रीवास्तवविरुद्ध ठगीको उजुरी परेपछि उनी आफै प्रहरी कार्यालयमा उपस्थित भएका थिए। प्रारम्भिक सोधपुछपछि उनलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो।

श्रीवास्तवसहित सिप्रवी सेक्युरिटिजका अध्यक्ष रविराज भट्टराई, प्रबन्ध निर्देशक सतिष कुमार श्रेष्ठ र सिनियर अधिकृत कविराज न्यौपानेविरुद्ध समेत ठगीको उजुरी परेको प्रहरीले जनाएको छ।

प्रहरी स्रोतका अनुसार जयन्तविरुद्धको उजुरी मिता मुरारका अग्रवालले दिएकी हुन्। यसअघि उनका श्रीमान् तथा शेयर कारोबारी दीपेन्द्र अग्रवाललाई पनि प्रहरीले पक्राउ गरेको थियो। उनी हाल धरौटीमा रिहा भइसकेका छन्।

उजुरीमा भनिएअनुसार सिप्रवीका पदाधिकारीहरूले शेयर कारोबारको नाममा लाखौं रुपैयाँ ठगी गरेका थिए। जिल्ला प्रहरी परिसर काठमाडौंमा दिइएको उजुरीका आधारमा चारै जना विरुद्ध पक्राउ पूर्जी जारी गरिएको हो।

प्रतिक्रिया