
माओवादी नेता शिवकुमार पक्राउ
वीरगन्ज – नेकपा माओवादीका नेता शिवकुमार साह तेली पक्राउ परेका छन् ।पर्साको सखुवा प्रसौनी गाँउपालिका- ६ लखनपुर घर भएका तेली बैंकिङ कसूर मुद्दामा पक्राउ परेका हुन् । तेलीलाई वीरगन्जको श्रीपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।
क्रान्ति गुप्तासहितका दुईजना व्यक्तिलले दिएको जाहेरीका आधारमा तेलीलाई पक्राउ गरिएको लम्सालले बताए । आफ्नो बैंक खातामा रकम नहुँदानहुँदै झुक्याएर तेलीले १० लाख र ६ लाखको गरी दुईवटा चेक दिएको र बैंकबाट ती दुईवटै चेक बाउन्स भएपछि पीडितहरूले उनीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको लम्सालले बताए ।
पक्राउ परेका तेलीलाई जिल्ला प्रहरी कार्यालय पर्साको थुनामा राखेर उनीविरुद्ध पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई कारबाही प्रकृया अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक लम्सालले जानकारी दिए ।
२०७९ को निर्वाचनमा नेपाल सुशासान पार्टीका तर्फबाट पर्साको निर्वाचन क्षेत्र नम्बर ३ को (क) बाट प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका तेली चुनाव हारे लगत्तै नेकमा माओवादी केन्द्रमा प्रवेश गरेका थिए । त्यसअघि तेली जनता समाजवादी पार्टी नेपालमा थिए ।



कागजपत्र |
