‘बर्थ डे’कै दिन प्रहरी ‘खोर’मा चक्रे मिलन, आज अदालत पेश गरिँदै


काठमाडौं – हिजो साउन १५ गते । मिलन गुरुङ उर्फ चक्रे मिलनको जन्मदिन । उनको सामाजिक सञ्जाल फेसबुकमा उनलाई जन्मदिनको शुभकामना लेख्नेहरु प्रशस्त्रै थिए ।

वर्षौदेखि आपराधिक कर्मका लागि आधार क्षेत्र बनाइरहेका राजधानीको महाराजगञ्ज क्षेत्रमा रहेको होटल साम्बालामा जन्मदिन मनाइरहेका चक्रे मिलनको समूहमाथि प्रहरीले गरेको अप्रेसनपछि उनी पक्राउ परे ।

लामोसमयदेखि राजधानीमा समुह नै बनाएरआतंक मच्चाउँदै आएका उनीसहित उनका सहयोगी काठमाडौंको शान्ति सुरक्षाका लागि कमाण्ड लिएर बसेका एसएसपी विश्व अधिकारीको टोलीको फन्दामा पर्यो ।

राजधानीको शान्ति सुरक्षाको जिम्मेवारी लिएपछि आपराधिक गतिविधिलाई नियन्त्रणमा लिने अठोटका साथ अघि बढिरहेका एसएसपी विश्व अधिकारी स्वयं पनि अप्रेसनमा खटिएका थिए । उनको कमाण्डमा पुगेको विशेष टोलीले होटल साम्बालाबाट चक्रेमिलन सहितको टोलीलाई नियन्त्रणमा लिएको हो ।

गुण्डागर्दीविरुद्ध काठमाडौं प्रहरी परिसर र उपत्यका अनुसन्धान कार्यालयको टोलीले संयुक्तरुपमा अप्रेसन चलाएका थिए ।

सोही क्रममा चक्रेसहित सहयोगीहरूलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बिहीबार राति नै ठमेल र महाराजगन्ज क्षेत्रका विभिन्न स्थानबाट आपराधिक गतिविधिमा संलग्न ४७ जनालाई पनि पक्राउ गरिएको छ ।

चक्रे मिलन यसअघि पनि पटक–पटक आपराधिक आरोपमा पक्राउ परे पनि छुट्दै आएका थिए । तर, राजधानीमा पछिल्लो समय बढ्दै गएका धम्की, फिरौती र आपराधिक गतिविधिका कारण प्रहरीले विशेष रणनीतिसहित अपरेसन चलाउँदै आएको छ ।

सोही क्रममा प्रहरीले बुधबार ठमेलबाट सानुभाई भनिने युवराज गुरुङलाई पनि पक्राउ गरेको थियो । सानुभाइ प्रहरी इन्काउन्टरमा मारिएका कुमार श्रेष्ठ ‘घैँटे’का सहयोगी हुन् । उनलाई जिल्ला अदालतले चार दिनको म्याद थपेर अनुसन्धानका लागि प्रहरीलाई अनुमति दिइसकेको छ ।

चक्रे मिलनसहितको टोलीलाई आज अदालत पेश गरिने पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया