काठमाडौं महानगरको नक्कली कर्मचारी भन्दै ठगी गर्ने दोलखाका युवक समातिए


काठमाडौं- काठमाडौं महानगरपालिकाको फोहर व्यवस्थापन विभागको नक्कली कर्मचारी बनेर १३ लाख रुपैयाँभन्दा बढी असुली गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्ने व्यक्ति दोलखा सैलुङ गाउँपालिका–२ का २८ वर्षीय राजु लामा हुन्। उनलाई नयाँ बानेश्वरस्थित प्रहरी वृत्तबाट खटिएको टोलीले पक्राउ गरेको काठमाडौं जिल्ला प्रहरी परिसरले जनाएको छ।

प्रहरीका अनुसार लामाले आफू महानगरपालिकाको फोहरमैलाको कर्मचारी भएको भन्दै विभिन्न व्यक्तिबाट १३ लाख २५ हजार रुपैयाँ असुलेका थिए। सो क्रममा उनले नक्कली रसिदहरू प्रयोग गरेको खुलेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले लामाको साथबाट विभिन्न रसिदहरू समेत बरामद गरिएको जानकारी दिए। प्रारम्भिक अनुसन्धानमा उनी नक्कली कर्मचारी भएको पुष्टि भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया