
प्राधिकरणको स्पष्टिकरण: चनौलीमा लोडसेडिङ होइन
चितवन- नेपाल विद्युत् प्राधिकरणले चनौली वितरण केन्द्रमा देखिएको प्राविधिक समस्यालाई लिएर ‘लोडसेडिङ’को भ्रम फैलाउन खोजिएको आरोप लगाएको छ। पश्चिम चितवन र माडी क्षेत्रमा आइतबारदेखि लागू भएको ६ घण्टा विद्युत् अवरुद्धबारे स्पष्टिकरण दिँदै प्राधिकरणले यस्तो जानकारी दिएको हो।
आइतबार जारी गरिएको विज्ञप्तिमा प्राधिकरणले बसेनी १३२ केभी सबस्टेशनबाट चनौली सबस्टेशनसम्म नयाँ ३३ केभी लाइनको निर्माण कार्य अन्तिम चरणमा पुगेको उल्लेख गरेको छ। यो काम आगामी दुई–तीन दिनभित्र सम्पन्न भई विद्युत् आपूर्ति नियमित हुने विश्वास प्राधिकरणले व्यक्त गरेको छ।
प्राधिकरणका अनुसार हाल वर्षा भए पनि अपेक्षित मात्रामा पानी नपरेकाले सिंचाइको माग बढेको छ। यसले लाइन र ट्रान्सफर्मर व्यवस्थापनमा असर पारेको छ। त्यही व्यवस्थापनका लागि तालिका बनाइएको भन्दै प्राधिकरणले यो अवस्थालाई लोडसेडिङको रूपमा बुझ्न नहुने स्पष्ट पारेको हो।
प्राधिकरणले चनौली क्षेत्रमा विद्युत् लोड अत्यधिक बढेको जनाउँदै यसको व्यवस्थापनका लागि प्राविधिक कर्मचारीहरू दिनरात खटिएको जानकारी दिएको छ। न्यू भरतपुरस्थित बसेनी सबस्टेशनबाट आउने ३३ केभी लाइनमा देखिएको समस्याको दीर्घकालीन समाधानका लागि नयाँ लाइन निर्माण तीव्र गतिमा अघि बढेको प्राधिकरणको दाबी छ।
लोडसेडिङ नेपालका लागि विगतको कुरा भएको उल्लेख गर्दै प्राधिकरणले नागरिकहरूलाई सही र यथार्थ सूचना सम्प्रेषण गर्न आग्रहसमेत गरेको छ।



कागजपत्र |
