एकैदिन एयर इन्डियाका ११२ पाइलट कसरी भए बिरामी ?


नयाँ दिल्ली- अहमदाबादमा भएको भयानक विमान दुर्घटनापछि एयर इन्डियाका पाइलटहरूबीच एकैपटक बिरामी बिदा लिनेको संख्या आकस्मिक रूपमा बढेको छ। भारतको लोकसभामा नागरिक उड्डयन राज्यमन्त्री मुरलीधर मोहोलले संसदलाई जानकारी दिँदै एकैदिन ११२ जना पाइलटले बिरामी छुट्टी मागेको खुलासा गरेका छन्।

गत जुन १२ मा एयर इन्डियाको बोइङ ७८७–८ विमान एआई–१७१ लण्डन ग्याटविकतर्फ जाँदै गर्दा अहमदाबादबाट उडेको केहीबेरमै मेडिकल कलेजको भवनमा ठोक्किँदा भएको दुर्घटनामा २६० जनाको मृत्यु भएको थियो। तीमध्ये २४१ जना विमानमा सवार थिए भने १९ जना भुइँमा रहेका नागरिक थिए। एक जना यात्रु सामान्य घाइते अवस्थामा बाँच्न सफल भएका थिए।

दुर्घटनापछि जुन १६ तारिखका दिन ५१ जना कप्तान (कमाण्डर) र ६१ जना प्रथम अधिकारी (फस्ट अफिसर) गरी ११२ जना पाइलटले एकैपटक बिरामी भएको भन्दै बिदा मागेका थिए। राज्यमन्त्री मोहोलले लेखित जवाफमा भने, “एआई–१७१ दुर्घटनापछि एयर इन्डियामा पाइलटहरूबाट बिरामी बिदा लिने दरमा सानो वृद्धि भएको छ।”

पाइलटहरू एकैपटक बिरामी पर्नुमा मानसिक स्वास्थ्यको प्रभाव पनि हुन सक्ने आशंका उठेको छ। नागरिक उड्डयन महानिर्देशनालयले सन् २०२३ को फेब्रुअरीमा जारी गरेको मेडिकल सर्कुलरमार्फत एयरलाइन्सलाई फ्लाइट क्रू तथा एअर ट्राफिक कन्ट्रोल अफिसर हरूको मानसिक स्वास्थ्य पहिचान तथा व्यवस्थापनका लागि छुट्टै तालिम कार्यक्रम ल्याउन सुझाव दिएको थियो।

राज्यमन्त्री मोहोलका अनुसार एयरलाइन्स तथा एभिएसन संस्थाहरूलाई पीयर सपोर्ट प्रोग्रामसञ्चालन गर्न पनि भनिएको छ, जसले समस्या भोगिरहेका कर्मचारीलाई सहयोग र समर्थन पुर्‍याउनेछ। यो कार्यक्रम गैरदण्डात्मक र गोपनीय प्रकृतिको हुनेछ।

एक अर्को प्रश्नको उत्तरमा मन्त्री मोहोलले हालसम्म भारतको नागरिक उड्डयन मन्त्रालयसँग विमान दुर्घटनाका कारण जमिनमा भएका मानवीय तथा भौतिक क्षतिको क्षतिपूर्ति व्यवस्था सम्बन्धी कुनै स्पष्ट नीति नभएको पनि जानकारी दिए।

दुर्घटनाको छानबिन नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको एयरक्राफ्ट एक्सिडेन्ट इन्भेस्टिगेशन ब्युरोले गरिरहेको छ। प्रारम्भिक रिपोर्टअनुसार इन्धन नियन्त्रक स्विच (फ्यूल कन्ट्रोल स्विच) अचानक बन्द भएपछि दुवै इन्जिनले काम गर्न छाडेको आशंका गरिएको छ। यद्यपि दुर्घटनाको ठोस कारण जान्न विस्तृत छानबिन प्रतिवेदनको प्रतिक्षा गरिएको छ।

 

प्रतिक्रिया