
मुम्बई विमानस्थलमा एयर इन्डियाको विमान रनवेबाट चिप्लियो, ठूलो क्षति टर्यो
मुम्बई- भारतकाे केरलास्थित कोचीबाट मुम्बई आइरहेको एयर इन्डियाको विमान सोमबार बिहान अवतरण गर्ने क्रममा रनवेबाट चिप्लिएको छ। अवतरणका क्रममा मौसम खराबीका कारण रनवे बाहिर चिप्लिए पनि ठूलो क्षति भने भएको छैन।
भारतीय समयअनुसार बिहान ९:३० बजे मुम्बईको छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलमा उक्त घटना भएको हो। घटनाका बेला मुम्बईमा भारी वर्षा भइरहेको थियो।
एयर इन्डियाका अनुसार एआई २७४४ नम्बरको विमान अवतरणपछि रनवेबाट केही बाहिर गएको थियो तर विमान सुरक्षित रूपमा गेटसम्म पुग्न सफल भयो। विमानमा रहेका सबै यात्रु र चालक दलका सदस्यहरू सकुशल रहेका छन् र कसैलाई चोटपटक लागेको छैन।
यद्यपि भारतीय सञ्चारमाध्यमका अनुसार केही स्रोतहरूले अवतरणका क्रममा विमानका तीन टायर पड्किएको र इन्जिनमा क्षति पुगेको आशंका जनाएका छन्। अहिले विमानलाई थप जाँचका लागि ग्राउन्ड गरिएको छ।
विमानस्थल प्रशासनका अनुसार दुर्घटनापछि आपतकालीन टोली तत्काल सक्रिय गरिएको थियो। मुख्य रनवे ०९/२७ मा सानो क्षति देखिएपछि विमान सञ्चालन सहायक रनवे १४/३२ मार्फत गरिएको छ। विमान हिलो क्षेत्रमा पुगे पनि उच्च गतिको कारणले फसेन।
घटनाको कारण र अन्य पक्षबारे अनुसन्धान गर्न नागरिक उड्डयन महानिर्देशनालयका अधिकारीहरू घटनास्थलमा पुगेका छन्।



कागजपत्र |
