रसुवा बाढीः उद्धार र राहतका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण


काठमाडौं – रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीले गरेको जनधनको क्षतिप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गर्दै उद्धार कार्यलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएको छ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै नागरिक तहबाट राख्नुपर्ने उच्च सतर्कताका लागि अपिल गरेको छ।

‘तीन प्रहरी र १५ नागरिक बेपत्ता भएको घटना अत्यन्तै दुःखद छ। नेपाल–चीन जोड्ने मितेरी पुल एवं भन्सार क्षेत्रमा रहेका कन्टेनर र अन्य मोटर बगाउँदा करोडौंको क्षति भएको छ। यो विपत्तिको समयमा उद्धार कार्यलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन नेपाली कांग्रेस सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ।’ कांग्रेसको अपिलमा भनिएको छ।

वर्षाको समयमा हरेक वर्ष बाढी पहिरोको प्रकोप सामना गर्नुपरेको र बेमौसममै पनि गत वर्ष असोज १२ मा गम्भीर विपत्ति व्यहोर्नुपरेको स्मरण गर्दै कांग्रेसले ऐक्यबद्ध ढंगले प्रकोप सामनामा व्यवस्थित योजनासाथ तत्पर रहन तिनै तहको सरकारलाई आग्रह गरेको छ।

 

प्रतिक्रिया