
पर्यटन आगमनमा भारत शीर्षमा, अमेरिका र चीनपछि
काठमाडौं- सन् २०२५ को पहिलो ६ महिनामा ५ लाख ७७ हजार ६८९ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सबैभन्दा धेरै भारतीय पर्यटक नेपाल आएका हुन्।
गत वर्षको सोही अवधिमा ५ लाख ८३ हजार ११ विदेशी पर्यटक आएका थिए। यो वर्षको संख्यामा अघिल्लो वर्षको तुलनामा थोरै गिरावट देखिएको छ, तर भारतीय पर्यटकको उपस्थिति भने निरन्तर रूपमा उच्च छ।
यस अवधिमा १ लाख ४७ हजार ८३९ जना भारतीय पर्यटक नेपाल आएका छन्। त्यसपछिका प्रमुख पर्यटक राष्ट्रहरूमा अमेरिका (५८,३२६), चीन (५२,५१४), बंगलादेश (२८,९५६), र बेलायत (२७,०६८) रहेका छन्।
अन्य उल्लेखनीय पर्यटक आगमन हुने देशहरूमा अस्ट्रेलिया (२२,०९५), थाइल्यान्ड (१७,६३४), श्रीलंका (१५,४३२), जर्मनी (१४,४५५), र दक्षिण कोरिया (१२,७२६) रहेका छन्।
जुन महिनामा मात्रै ७६ हजारभन्दा बढी पर्यटक
सन् २०२५ को जुन महिनामा मात्रै ७६ हजार ४२५ जना विदेशी पर्यटक नेपाल आएका छन्। यो महिनामा पनि भारतबाट आउने पर्यटकको संख्या सबैभन्दा धेरै ३२ हजार ६६२ रहेको छ।
त्यसैगरी जुन महिनामा अमेरिका (९,६९६), चीन (६,७३६), बंगलादेश (५,४४९), र बेलायत (२,२८४) बाट पर्यटक नेपाल आएका छन्। साथै अस्ट्रेलिया, मलेशिया, भुटान, जापान, र दक्षिण कोरिया लगायतका देशहरूबाट पनि उल्लेख्य संख्यामा पर्यटक नेपाल आएका पर्यटन बोर्डले जनाएको छ।



कागजपत्र |
