बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने कमला कुमारी पक्राउ


काठमाडौं- वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाई बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक महिला पक्राउ परेकी छन्।

पक्राउ पर्नेमा स्याङ्जा जिल्लाको बिरूवा गाउँपालिका–१ स्थायी घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बसोबास गर्दै आएकी ५१ वर्षीया कमला कुमारी केसी रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले जानकारी दिएको छ।

कमलाले दुई जना व्यक्तिलाई बुल्गेरिया रोजगारीमा पठाइदिन्छु भन्दै ६ लाख ७५ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएकी थिइन्। पीडितहरूका उजुरीका आधारमा प्रहरीले खोजी गर्दै जाँदा उनलाई भक्तपुरको बालकोटबाट पक्राउ गरिएको हो।

हाल उनलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया