
तरुण दलका केन्द्रीय सदस्यद्वयले सुरू गरे आमरण अनसन, तदर्थ समिति भंगको माग
काठमाडौं । महाधिवेशन गर्न असक्षम रहेको भन्दै तरुण दलको तदर्थ समिति भंगको मागसहित आमरण अनसन सुरू गरिएको छ ।
सानेपास्थित कांग्रेस मुख्यालयमा तरुण केन्द्रीय सदस्यहरू रोजन राई र अम्बिका बास्कोटाले आमरण अनसन थालेका हुन् ।
संगठनमा गुट उपगुट बनाई लम्जुङमा कार्यकर्तामाथि खुकुरी प्रहारजस्ता आपराधिक कार्य गरेको, भवन निर्माणको लागि विनियोजित बजेटबारे गलत प्रचार गरेर गणेशमान सिंह र सिंगो पार्टीलाई बदनाम र विवादित बनाएको, ५० भन्दा बढी जिल्लामा कार्यवाहकमाथि कार्यवाहको जिम्मेवारी दिइएको उनीहरूको भनाइ छ ।
त्यस्तै २०७८ सालमै स्थानीय र आम चुनावको ३ महिनाभित्र महाधिवेशन गर्न निर्देशन दिएकोमा तदर्थ समितिले पटक-पटक म्याद थप्दा पनि ३-३ वर्षसम्म एउटा पनि जिल्लाको अधिवेशन गर्न नसकेको, पार्टीको केन्द्रीय समितिले २०८१ चैत मसान्तदेखि दलको कार्यकाल स्वत: समाप्त हुने निर्णय गरेको कारण तदर्थ समिति भंग हुनुपर्ने जिकिर गरिएको छ ।
कुनै पनि जिम्मेवारी पूरा गर्न नसक्ने संस्था वा व्यक्तिलाई पुरस्कार नभई दण्ड दिने परिपाटी बसाल्न उनीहरूले ध्यानाकर्षण गराएका छन् ।



कागजपत्र |
