
माधव नेपालमाथि संकटको संकेत, झाँक्रीले भनिन्- अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन
काठमाडौं – नेकपा (एकीकृत समाजवादी) की नेतृ तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले अध्यक्ष माधवकुमार नेपालप्रति लक्षित गर्दै ‘अर्ली महाधिवेशन’ को माग गरेकी छिन्। शनिबार लुम्बिनीको तिलोत्तमामा आयोजित युवा संघ नेपालको भेलामा उनले पार्टी नेतृत्वमा संकट गहिरिएको भन्दै अध्यक्ष फेर्नुपर्ने प्रस्ताव सार्वजनिक गरिन्। उनका भनाइले पार्टीभित्र तीव्र तरंग उत्पन्न गरेको छ।
झाँक्रीले स्पष्ट शब्दमा भनिन्, “पार्टीमा संकट छ। अध्यक्षकै बारेमा संकट आयो। अब के गर्ने? अब पार्टीलाई पुनर्गठन गरेर अगाडि बढ्ने हो। संकट आयो भनेर भाग्ने भनेको होइन।” उनले थपिन्, “अब अर्ली महाधिवेशन गरौँ। कानुनी र संवैधानिक हिसाबले अध्यक्षमाथि समस्या आयो। कयौँ पार्टी सदस्यहरूमा पनि समस्या आएकै छ। अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन।”
झाँक्रीले वर्तमान केन्द्रीय समिति नेतृत्वको बनावटमाथि पनि प्रश्न उठाउँदै भनिन्, “टिका लगाएर बनेको केन्द्रीय समितिबाट पार्टी बन्न सक्दैन। त्यसरी गयो भने पार्टी विघटनतर्फ जान्छ।”
उनको यस्तो अभिव्यक्तिप्रति पार्टीभित्र तीव्र विरोध सुरु भएको छ। पोलिटब्युरो सदस्य सुदेश पराजुलीले झाँक्रीमाथि ‘नक्कली स्टन्टबाजी’ को आरोप लगाउँदै सामाजिक सञ्जालमा लेखे, “लुम्बिनीतिर एउटा विक्षिप्त मानसिकताको पराकाष्ठा छरपस्ट भएछ। कहिले नेतालाई भ्रममा पारेर, कहिले नक्कली स्टन्टबाजी गरेर उदय भएको मानसिकता अहिले सतहमा आएको छ।”
रामकुमारी झाँक्रीको अभिव्यक्ति नेकपा (एस) को आन्तरिक राजनीति र नेतृत्वको वैधानिकता सम्बन्धी बहसको केन्द्रमा पुगेको छ। उनको प्रस्तावले नेतृत्व परिवर्तनको बहसलाई उचाइमा पु¥याएको छ भने अर्कोतर्फ पार्टी अनुशासनको सवाल उठ्दैछ।



कागजपत्र |
