थाई एयर एसियाले फेरि भैरहवा विमानस्थलबाट व्यावसायिक उडान गर्ने


भैरहवा- थाई एयर एसियाले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि व्यावसायिक उडान गर्न लागेको छ। कम्पनीले अघिल्लो वर्ष कात्तिक १८ गतेदेखि उडान थालेको भए पनि केही समयपछि विभिन्न कारण देखाउँदै सेवा स्थगन गरेको थियो।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतका अनुसार थाई एयर एसियाले नेपाल नागरिक उड्डयन प्राधिकरणमा पेश गरेको ‘विन्टर सेड्युल’ स्वीकृत भइसकेको छ।

अनुसार कम्पनीले आगामी कात्तिक ९ गतेदेखि हप्तामा दुई दिन आइतबार र बुधबार बैंकक–भैरहवा–बैंकक सिधा उडान गर्नेछ।

हाल यो विमानस्थलबाट कुनै अन्तर्राष्ट्रिय उडान सञ्चालनमा छैन। यद्यपि सरकारले अन्तर्राष्ट्रिय कम्पनीहरूलाई भैरहवाबाट सेवा दिन प्रोत्साहनस्वरूप विभिन्न सहुलियत प्रदान गर्दै आएको छ। तर पनि अधिकांश कम्पनीले यहाँबाट नियमित उडान गर्न चासो देखाएका छैनन्।

नेपाल एयरलाइन्सले समेत भैरहवाको सेवा स्थगित गरेर काठमाडौंमा केन्द्रित भएपछि सरकारले आलोचना खेपिरहेको छ। विगतमा नेपाल एयरलाइन्ससहित कतार एयरवेज, फ्लाई दुबई, थाई एयर एसिया र जजिरा एयरवेजले यस विमानस्थलबाट उडान गरेका थिए।

प्रतिक्रिया