पप्पुले १२ वर्षमा पनि बनाउन नसकेका तीनकुने र टेकु पुल


काठमाडौं- काठमाडौंका दुई महत्वपूर्ण पक्की पुल  तीनकुने र टेकु–कालीमाटी  लामो समयदेखि अलपत्र छन्। यी पुलहरू २०७१ सालमा निर्माण शुरू भएका हुन्, तर अझै सम्पन्न हुन सकेका छैनन्। त्यही समय सुरु गरिएका बिजुलीबजार र डल्लुका पुल भने पहिले नै सञ्चालनमा आइसकेका छन्।

चार पुलको निर्माणका लागि पप्पु कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको थियो। टेकु र डल्लु एक प्याकेजमा, तीनकुने र बिजुलीबजार अर्को प्याकेजमा समेटिएका थिए। सम्झौताअनुसार निर्माण २०७४ मा सकिनुपर्ने थियो। म्याद थपी थपी बिजुलीबजार पुल २०७६ मा र डल्लु पुल २०७८ मा सञ्चालनमा आए।

तर टेकु पुलमा ठेकेदारले कमसल सामग्री प्रयोग गरेको पाइएपछि त्यसलाई सवारीका लागि अयोग्य घोषित गरियो। अहिले पनि पुल बन्द छ। यसलाई सञ्चालन गर्ने कि भत्काउने भन्ने विषयमा अझै अन्योल छ।

जेठ २० गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले लोड टेस्ट गरी सञ्चालन गर्ने तयारी भइरहेको बताएका थिए। तर पहिले नै ‘अयोग्य’ भइसकेको पुल फेरि परीक्षण गर्न खोज्नु नै भ्रष्टाचारको सङ्केत भएको भन्दै आलोचना हुन थालेको छ।

तीनकुनेको पुल झन् कहालीलाग्दो अवस्थामा छ। सुरुवातमै डिजाइन परिवर्तन र गुणस्तरहीन काम गरेपछि २०७७ मा सडक विभागले निर्माण रोकिदिएको थियो। अहिले पुलको ठाउँमा दुई पिलर र बेसमेन्ट मात्र बाँकी छन्।

निर्माणाधीन संरचना जनजीवनका लागि जोखिम बनेको छ। खनिएको खाल्डोमा मोटरसाइकल खस्दा २०८० असोज १४ गते एक जनाको ज्यानसमेत गएको थियो।

सरकारले अब पप्पु कन्स्ट्रक्सनसँगको ठेक्का तोडी नयाँ प्रक्रिया अगाडि बढाउने तयारी गरिरहेको छ। पुल नबन्दा टेकु र तीनकुने क्षेत्रमा बिहान–बेलुकी भीषण ट्राफिक जाम हुने गरेको छ। पप्पु कन्स्ट्रक्सन विगतदेखि नै लापरबाही र कमजोर निर्माणका कारण बदनाम हुँदै आएको छ।

प्रतिक्रिया