
इटाली उडिन् परराष्ट्रमन्त्री राणा
काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा खाद्य तथा कृषि सङ्गठन (एफएओ) को ४४औं सत्रमा सहभागी हुन इटाली प्रस्थान गरेकी छन्। रोममा यही जुन २८ देखि जुलाई ४ सम्म हुने उक्त सम्मेलनमा सहभागी हुन शुक्रबार बिहान उनी त्यसतर्फ प्रस्थान गरेकी हुन्।
परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री राणाले एफएओको प्रमुख सत्र र अन्य उच्चस्तरीय कार्यक्रमहरूलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
उनको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलमा अस्ट्रियाका लागि नेपाली राजदूत तथा एफएओका लागि स्थायी प्रतिनिधि, परराष्ट्र मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अधिकारीहरू सहभागी छन्।
एफएओ सम्मेलनपछि मन्त्री राणा इटालीको मिलान र त्यसपछि जर्मनीको ह्याम्बर्ग तथा बर्लिन पुग्ने कार्यक्रम रहेको छ। जर्मनीमा लगानी बोर्ड नेपालद्वारा आयोजना गरिने विभिन्न लगानी प्रवर्द्धन कार्यक्रमहरूमा समेत उनी सहभागी हुने मन्त्रालयले जनाएको छ।
मन्त्री राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव अमृतबहादुर राईसहितको टोलीले बिदाइ गरेको थियो।



कागजपत्र |
