शेयर बजार तेस्रो दिन पनि घट्यो


काठमाडौं — शेयर बजार लगातार तेस्रो दिन ओरालो लागेको छ। नेप्से परिसूचक आज ४.४५ अंकले घटेर २,५९५.७४ विन्दुमा झरेको छ।

बजार घट्ने क्रममा आज विकास बैंक, जलविद्युत्, माइक्रोफाइनान्स र म्युचुअल फन्डबाहेक अन्य सबै समूहको शेयरमा गिरावट आएको छ। होटल समूहको शेयर सबैभन्दा बढी, १.८७ प्रतिशतले घटेको छ।

आज रिलायबल समृद्धि म्युचुअल फन्ड को मूल्य ९ प्रतिशतभन्दा बढीले घटेको छ भने विपरित रूपमा ग्रीन विकास बैंक र सप्तकोशी विकास बैंक का शेयरहरू ९ प्रतिशतले बढेका छन्।

यद्यपि नेप्से परिसूचक ओरालो लागे पनि कारोबार रकम भने उल्लेखनीय रूपमा बढेको छ। हिजो ५ अर्ब ९४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो भने आज ३ सय ६ कम्पनीका १ करोड ९६ लाख कित्ता शेयर किनबेच भई कुल कारोबार ७ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ।

प्रतिक्रिया