इरानको मिसाइल वर्षा : इजरायलका पाँच शहरमा हमला, विद्युत आपूर्ति ठप्प


काठमाडौं-  इरानका परमाणु ऊर्जा केन्द्रमा अमेरिकाले हमला गरेपछि रुसले कडा प्रतिक्रिया दिएको छ। रुसको सुरक्षा परिषद्का उपाध्यक्ष तथा पूर्वराष्ट्रपति दिमित्री मेदभेदेवले अमेरिकाको कदमप्रति आपत्ति जनाउँदै चेतावनी दिएका छन् कि अब केही देशहरू इरानलाई सीधै परमाणु हतियार दिन पनि तयार छन्।

एक्समा लेख्दै मेदभेदेवले अमेरिकी हमला असफल भएको दाबी गरेका छन्। उनले इरानको परमाणु संरचना सुरक्षित रहेको र यो हमलाले इरानको परमाणु महत्त्वाकांक्षा रोक्नुको साटो अझ तीव्र बनाउने चेतावनी दिए।

उनले अमेरिकाको सैन्य तथा कूटनीतिक रणनीति उल्टो परेको बताउँदै यस्तो कदमले इरानको सत्ता झनै बलियो बन्ने दाबी गरेका छन्।

त्यस्तै, इरानले सोमबार मात्रै इजरायलमाथि १५ भन्दा बढी ब्यालिस्टिक मिसाइलले हमला गरेको जनाएको छ। करिब ४० मिनेटसम्म इजरायलका विभिन्न शहरहरू– सफेद, तेल अभिभ, अश्कलोन, अशदोद र बेइसनमा मिसाइल प्रहार गरिएको इरानले जनाएको छ।

यस हमलाले इजरायलको विद्युत आपूर्ति प्रणाली प्रभावित भएको छ। इजरायल इलेक्ट्रिक कर्पोरेशनले एक रणनीतिक संरचनामा क्षति पुगेको पुष्टि गरेको छ।

त्यस्तै, इरानले इजरायली सेनासँग सम्बन्धित एक कम्पनीमाथि साइबर हमला गर्दै इजरायलका सैन्य तथा परमाणु अड्डाहरूको संवेदनशील सूचना हात परेको दाबी समेत गरेको छ।

इरानी हमलाको जवाफमा इजरायलले तेहरानमा स्थित इभिन जेलसहितका स्थानमा जवाफी हमला गरेको दाबी गरेको छ। इभिन जेल इरानमा राजनीतिक कैदीहरू राखिने चर्चित जेल हो।

प्रतिक्रिया